आएफआइसीद्वारा लेखापरीक्षक नियुक्त

काठमाडौं, १७ मंसिर । नेपाल बंगलादेश (एनबी) बैंकको बंगलादेशी संस्थापक साझेदार इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सले (आइएफआइसी) बैंकको थप सेयर खरिदका लागि स्वतन्त्र लेखापरीक्षण (डिडिए) गर्न लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले ढाकास्थित चार्टर्ड एकाउन्टेन्ट संस्था हाउलाडार युनुस एन्ड कम्पनी (एचवासी)लाई नियुक्त गरेको हो ।
आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकमा रहेको नेपाली संस्थागत साझेदार र बंगलादेशकै बैंक एसियाको समेत सेयर किन्ने तयारीस्वरूप लेखापरीक्षक नियुक्त गरेको हो । बैंकले थप संस्थागत सेयर किन्न बंगलादेशको केन्द्रीय बैंकसँग अनुमति लिइसकेको छ भने राष्ट्र बैंकले पनि करिब तीन साताअगाडि सेयर खरिद–बिक्रीका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।
आइएफआइसीले अन्य साझेदारको ३२ दशमलव ४ प्रतिशत थप सेयर किन्न प्रक्रिया अगाडि बढाएको हो । बैंककै योजनाअनुसार प्रक्रिया अगाडि बढेमा आगामी केही महिनाभित्र नेपाल बंगलादेश बैंकमा आइएफआइसी बैंकको सेयर स्वामित्व ४४ दशमलव ५५ प्रतिशत पुग्नेछ । हाल उक्त बैंकको नेपाल बंगलादेश बैंकमा ९ दशमलब ९२ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी, नेपाली साझेदारको २६ प्रतिशत र अर्का बंगलादेशी साझेदार बैंक एसियाको १४ दशमलव ८८ प्रतिशत सेयर रहेको छ ।
नेपाल बंगलादेश बैंकको नेपालका मुख्य प्रवद्र्धक एनबी समूहका अधिकांश व्यक्ति अहिले कालोसूचीमा रहेका छन् । कालोसूचीमा रहे पनि एनबी समूहका लक्ष्मीबहादुर, जितबहादुरले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न तिनीहरूको सेयर बिक्रीबाट आएको रकम प्रयोग गरिने बताइएको छ । एनबी समूहको अधीनमा रहेको अधिकांश सेयर धितोमा रहेकाले यो तत्कालै सम्भव भने देखिएको छैन । विभिन्न बैंकमा रहेको एनबी समूहको धितोको सेयर अहिले लिलामी प्रक्रियामा छ ।
नेपाल बंगलादेश बैंकका अनुसार बंगलादेशी लेखापरीक्षक आइतबार काठमाडौं आइपुग्नेछ । बैंकको सेयर कुन मूल्यमा किन्ने भन्ने यकिन गर्न नेपाली पक्षले पनि छुट्टै डिडिएस गराउन सक्ने बताइएको छ । नेपाल राष्ट्र बैंकले सेयर खरिद–बिक्री प्रक्रिया टुंग्याउन तीन महिनाको मात्र समय–सीमा तोकिदिएकाले समय–सीमाभित्रै कारोबार सञ्चालन गराउने पक्षमा रहेको एनबी बैंकका एक अधिकारीले बताए ।
एनबी समूहबाट बैंकमा प्रतिनिधित्व गर्ने अधिकारीहरू कालोसूचीमा परेपछि आइएफआइसी बैंकका प्रतिनिधि मोहम्मद लुत्पर रहमानलाई बैंकको सञ्चालक समिति अध्यक्ष तोकिइसकेको छ । प्रस्तावित सेयर खरिद गरेपछि आइएफआइसी नेपाल बंगलादेश बैंकको एक मात्र ठूलो संस्थागत लगानीकर्ता हुनेछ । बंगलादेशी बैंकले बैंकमा ५१ प्रतिशतको हिस्सा लिने कसरत गरे पनि जितबहादुर र लक्ष्मीबहादुरको व्यक्तिगत नाममा रहेको सेयर तिनीहरूले बेच्न आनाकानी गरेकाले त्यो उद्देश्य भने पूरा नहुने भएको छ । बैंकमा लक्ष्मीबहादुर श्रेष्ठको साढे ३ प्रतिशत र जितबहादुर श्रेष्ठको ३ दशमलव ३० प्रतिशत सेयर रहेको छ ।

प्रतिक्रिया