पारि झलमल्ल वारि अन्धकार

नेपालगन्ज, १७ मंसिर । साँझ पर्नासाथ पारिको भारतीय गाउँ झिलिमिली बन्छ । वारिको नेपाली गाउँ भने अन्धकारमय । भारतीय गाउँका सडकसमेत बिजुलीले उज्यालो बनाउँदा सँगै जोडिएको नेपाली गाउँका घरभित्र धिपधिप टुकी बलिरहेका हुन्छन् ।
बाँकेको बघौडा क्षेत्रका सर्वसाधारणले भारतीय गाउँको बिजुली हेरेर चित्त बुझाउनुपरेको धेरै वर्ष भइसक्यो । पारिजस्तै वारि पनि बिजुलीले घर र गाउँ झिलिमिली भइदिए कस्तो हुन्थ्यो भनेर सोच्नुबाहेक अर्थाेक केही गर्न सकेका छैनन्, बघौडावासीले ।
बाँकेको सदरमुकाम नेपालगन्जबाट उत्तर–पूर्व पर्ने राप्तीपारिको गंगापुर, होलिया, गंगापुर, मटैहया, कालाफाटाका मानिस दिनभरि खेतबारी गाउँघर निकै चहलपहल भए पनि संसाँझै त्यसक्षेत्र सुनसान बन्ने गरेको छ ।
मटेहियाका रामकुमार दीक्षितले भने, ‘रातभरि गाडी चलेको आवाज आउँछ, झ्यालबाट हेर्दा जताततै उज्यालो देखिन्छ ।’ तर आफूहरू भने  साँझ पर्नासाथ घर भित्रिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनले विद्युत् विस्तर नभएकै कारण गाउँमा चोरी–डकैती, लुटपाट, हत्या आतंकजस्ता घटना प्रतिदिन हुने गरेको बताए  ।
०५१ सालमा प्रेमबहादुर भण्डारी सांसद भएपछि बिजुलीको पोल ठड्याएका थिए । जुन पोलमा अहिलेसम्म तार जोड्ने र बिजुली दिने काम भएको छैन । त्यसबेला गाडेका विद्युत्को पोल जीर्ण भइसक्दासमेत विद्युत् विस्तार नहुँदा स्थानीयको उज्यालोमा रहने आस मरेको छ ।
४६ करोड लागतमा विस्तार हुन लागेको ३३ केभीको लाइन डेढ वर्षदेखि अवरुद्ध छ । टेन्डर आह्वानको विषयमा राजनीतिक दलहरूबीच विवाद हँुदा विद्युत् विस्तारको सम्पूर्ण कार्य रोकिएको राप्तीपारि विद्युत् विस्तार समितिका अध्यक्ष अवधराम थारूले जानकारी दिए ।
कोहलपुरबाट धामपुर शव स्टेसनसम्म ३३ केभीको लाइन विस्तारको जिम्मा पाएका राजेन्द्र मिश्रले तोकिएको समयावधिभन्दा २ वर्ष म्याद नाघिसक्दासमेत काम गर्न सकेका छैनन् । विद्युत् विस्तारको काम गर्न नसकेका मिश्रलाई शव स्टेसनबाट गाउँ–गाउँसम्म लाइन विस्तार गर्ने १० करोडको टेन्डर परेपछि विवाद उत्पन्न भएको उनले बताए । शव स्टेसनसम्म तार विस्तार गर्न नसक्ने ठेकेदारले गाउँ–गाउँमा विद्युत् विस्तार गर्न नसक्ने स्थानीयको दाबी छ ।

प्रतिक्रिया