‘माओवादी समस्या सिंहदरबारमा मात्र बाँकी’

काठमाडौं, १६  मंसिर । एमाले नेता केपी शर्मा ओलीले माओवादी अब मुलुकका लागि खासै समस्या नरहेको बताएका छन् ।

राजधानीमा शुक्रबार पार्टीनिकट युवा संघ नेपालको विधान सम्मेलन उद्घाटनका क्रममा नेता ओलीले माओवादी समस्या अन्तिम किस्ताका रूपमा सिंहदरबारमा मात्र बाँकी रहेको बताएका हुन् । ‘केही अवशेषबाहेक अब माओवादी खासै समस्या रहेन, सिंहदरबारमा अन्तिम किस्ता बाँकी छ,’ ओलीले भने, ‘जनवाद ल्याइदिन्छु भनेर अरूलाई गोली खुवाउनेले बरु गोली खान्छु बालुवाटार छोड्दिनँ भन्छ, कसरी सम्झाउनु ।’
उनले यसअघि जनवाद ल्याउन सहिद हुने उद्घोष गरेका एमाओवादी नेताले बालुवाटार बस्न सहिद हुने उद्घोष गर्न थालेको बताए । ‘हिजो त बरु सहिद होउँला जनवाद नल्याई छाड्ििदनँ भन्थे,’ उनले भने, ‘अब त बरु सहिद हुन तयार छु बालुवाटार छोड्दिन पो भन्छन् ।’
उनले सहमतिको सरकार गठन गर्ने राष्ट्रपतिको आह्वान चित्त नबुझे प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका वकिललाई सर्वाेच्च अदालत जान सुझाव दिए । ‘बाबुराम र उनका वकिललाई राष्ट्रपतिको आह्वान चित्त बुझेको छैन भने सर्वाेच्च अदालत जाउन्, देखेको छैन भने सिंहदरबारको पश्चिम ढोकाबाट बाहिर निस्केर बायाँ मोडियुन् त्यहीँ छ सर्वाेच्च अदालत,’ उनले भने, ‘आफ्नो बेडरुममा बसेर राष्ट्रपतिको आह्वान संवैधानिक कि असंवैधानिक भनेर जाँच्ने अधिकार छैन ।’
राष्ट्रपतिको आह्वान संवैधानिक कि असंवैधानिक भन्ने बौद्धिक बहसमा मुलुक विभाजित नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीका वकिलले मात्रै असंवैधानिक भनेको तर्क गरे । सत्ताकब्जाको नियतले संविधानसभा भंग गराए पनि एमाओवादी त्यसमा सफल नहुने उनको भनाइ थियो । ‘म माथि छु, भर्‍याङ झिकिदिन्छु अनि को आउन सक्छ भनेर संसद् र संविधानसभा भंग गरेर चुनाव घोषणा गरेको थियो,’ उनले भने, ‘त्यो हुन नसकेपछि फेरि अरू एक दुईवटा चुनाव घोषणा गरौँला भन्ने थियो, राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि बुझ्यो ।’
शुक्रबार सुरु संघको विधान सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनमा विधान संशोधन, राजनीतिक, आर्थिक र सांगठनिकलगायत प्रतिवेदनमाथि छलफल गरी पारित गरिने संघले जनाएको छ । सम्मेलनमा पाँच सय १३ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया