११ सय रोपनीको गाँजा फाँडियो

 

उदयपुर, १६  मंसिर । पश्चिमी क्षेत्रका विभिन्न गाविसका १ हजार १ सय रोपनीमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।
रुपाटार, ठानागाउँ, बाँसबोटे र ताम्लिछाका विभिन्न वडामा लगाइएको गाँजा फाँडिएको प्रहरीले जनाएको छ । ती क्षेत्रका करिब १ हजार १ सय रोपनीका गाँजा नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय कटारीका सइ रोशन थापा र सशस्त्र प्रहरी बेस क्याम्प कटारीका इन्स्पेक्टर लालबहादुर चन्दको नेतृत्वमा गएको संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ग्रामीण भेगमा व्यावसायिक रूपमा गरिँदै आएको गाँजाखेती फस्टाउँदै गएपछि प्रहरीले फँडानी अभियान चलाएको हो । प्रहरीले यस क्षेत्रमा प्रत्येक वर्ष गाँजा फडानी गर्दै आएको छ ।
प्रहरीले गत भदौमा बिरुवामै ९ सय ४२ रोपनी जग्गाको गाँजा नष्ट गरेको थियो । यस्तै, गत वर्ष २ हजार २ सय ३५ रोपनीको गाँजा नष्ट गरेको थियो । गरिबी र वैकल्पिक आम्दानीका स्रोत नभएका कारण त्यस क्षेत्रका किसान नगदेबालीका रूपमा लिँदै बर्सेनि व्यावसायिक गाँजा खेती गर्ने गरेका छन्

प्रतिक्रिया