१२ लाख दिइएपछि फस्र्योट

हेटौंडा, १४ मंसिर । सिँचाइ कार्यालय मकवानपुरका प्रमुखले रकम लिएर योजना फस्र्योट गरेका छन् । किसानका लागि आएको योजनामा कार्यालय प्रमुखले १२ लाख रुपियाँ लिएर बिल फस्र्योट गरेका हुन् ।
मोतिपुर सिँचाइ आयोजनाअन्तर्गत मकवानपुरको फापरबारी–५ पाथिभरामा भएको सिँचाइको बिल फस्र्योटमा दुई लाख रुपियाँ दिएपछि मात्र फस्र्योट गरिएको निर्माणमा संलग्न ठेकेदारले आरोप लगाएका छन् । टेन्डर परेर काम थाल्नुपूर्व दस लाख रुपियाँ कमिसन खाएको सिँचाइ कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद अधिकारीले काम पूरा भएको बिल फस्र्योटका लागि दुई लाख रुपियाँ लिएका हुन् ।
एसियाली विकास बैंकको लगानीमा भएको सिँचाइको काम मृतसञ्जीवनी कन्स्ट्रक्सनले ९१ लाख ८७ हजार रुपियाँमा पारेको टेन्डरलाई पेटीमार्फत स्थानीय चोकबहादुर ठाडा मगरले ३३ प्रतिशत अर्थात् करिब ३१ लाख रुपियाँमा काम गरेका थिए । कामको सिलसिलामा स्टमेटभन्दा बढी काम भएको थियो । तर, कर्मचारीले रकम लिएर मात्र फस्र्योट गरेको मगरले बताए ।
तीन किलोमिटर लामो नहरमा पहिलो चरणमा नौ सय मिटरको काम गरिए पनि एक हजार एक सय मिटर काम गर्न लगाएको, कामका सिलसिलामा दुई सय २० वटा जाली हाल्ने भनिएकामा दुई सय ६० वटा जाली हाल्न लगाएको मगरले बताए । मगरका अनुसार ५१ मिटर मेसिनरी वाल बनाउनुपर्ने स्टमेटमा रहे पनि ७६ मिटर बनाउन लगाएको र सिँचाइका लागि प्रयोग हुने पाइप बढी खरिद गर्न लगाएको बताइएको छ । मंसिरसम्म सक्नुपर्ने काम असारमै सकिए पनि रकम निकासीका लागि प्रमुख अधिकारीले कमिसनको खेल रचेको उनले बताए ।
उनले कामका सिलसिलामा राखेको ठेक्काको पाँच प्रतिशत रकम पाँच लाख धरौटी फिर्ता दिन मानेका छैनन् । मगरका अनुसार ३३ प्रतिशतमा काम गरे पनि कार्यालय प्रमुख अधिकारीले काम नभएको भन्दै थप काम गर्न लगाउँदा करिब ५२ प्रतिशत लगानी बढी भएको बताए ।
कार्यालय प्रमुख अधिकारीले आफूमाथि लगाइएको आरोप मिथ्या भएको बताए । उनले प्रक्रियाअनुसार ठेकेदारले काम नगरेको बताए । टेन्डरअनुसार २५ हजार रुपियाँको काम नभएको उनले बताए । पछिल्लो समय सिँचाइको काम स्थानीय समितिसँग मिलेर गरेको बताइएको छ । काम भए नभएको सबैको बिल पास गर्दै कार्यालय प्रमुख अधिकारीले कमिसन लिइरहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया