पुलिसको अर्को हार, संकटा र सरस्वती बराबरीमा

काठमाडौं, १४ मंसिर । यस वर्षको लिगमा नेपाल पुलिस क्लबको खराब प्रदर्शन यथावत् जारी छ । बुधबार भएको खेलमा मच्छिन्द्र क्लबले पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । बुधबार नै भएको खेलमा सरस्वती युथ क्लब र संकटा क्लबबीच १–१ गोलको बराबरी भयो । बुधबारको खेलपछि पुलिस क्लब एक स्थान तल झर्दै चौधौँ स्थानमा पुगेको छ । मच्छिन्द्रका लागि लक्ष्मीनारायण श्रेष्ठ र विशाल राई ‘बी’ ले गोल गरे । पराजयपछि पुलिस क्लब चौतर्फी दबाबमा परेको छ । टोलीको कमजोर परिणाम जारी रहँदा चोट र कमजोर बेन्चको समस्या पनि त्यत्तिकै छ । ‘हाम्रा केही खेलाडीलाई रि–कभर नभईकन पनि खेलाउनुपर्ने बाध्यता छ,’ पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने ।
पराजय स्विकारेको पुलिसले विगतका दुई खेलभन्दा सुधारिएको प्रदर्शन भने गरेको थियो । सुरुआतका केही अवसर खेर नगएका भए सायद खेलको कथा अर्कै हुन सक्थ्यो । नवौँ मिनेटमा भोला सिलवालको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यसको केही मिनेटभित्रै पुलिस क्लबले केही राम्रा अवसर गुमाएको थियो । ६६औँ मिनेटमा कर्ण लिम्बूको प्रहार पुलिसका गोलरक्षक ऋतेश थापाले क्लियर गर्न नसकेपछि लक्ष्मीले रिबाउन्डमा गोल गरे । त्यसको १२ मिनेटपछि नै विशालले गोल गरे । योगेश श्रेष्ठले विशाल राई ‘ए’ माथि फल प्रहार गरेपछि मच्छिन्द्रले पाएको फ्री–किकमा उनले सानदार गोल गरे ।
यसअघि भएको खेलमा अफ्रिकी खेलाडीको प्रभाव रह्यो । २६औँ मिनेटमा म्याम्बोले जियम्फ्रो बेनीलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै योना एलियासले सरस्वतीलाई अग्रता दिलाए । सरस्वतीले पनि पेनाल्टीमै बराबरी गोल गर्‍यो । अनिल थापा मगरले डी–बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा सल्यान खड्गीले संकटाका लागि गोल गरे ।

प्रतिक्रिया