‘राष्ट्रपति कार्यकारी हुन खोजे दुर्भाग्यपूर्ण’

बाग्लुङ, १३ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले कसैको उक्साहटमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन खोजे देशका लागि दुभाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।
धौलागिरि अञ्चल अस्पतालको बाग्लुङमा उद्घाटन कार्यक्रममा भट्टराईले संवैधानिक राष्ट्रपतिलाई उक्साएर कार्यकारी बनाउन खोजे देशमा दुर्घटना निम्तिने बताए । ‘पूर्वराजा ज्ञानेन्द्रले कार्यकारी अधिकार हातमा लिँदा पतन हुनुपरेको थियो,’ चेतावनी शैलीमा उनले भने, ‘राष्ट्रपतिले पनि कार्यकारी अधिकार लिन खोजे पूर्वराजाकै अवस्था आउँछ ।’
उनले अन्तरिम संविधान अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिसमा मात्रै हेरक काम गर्नु पर्ने बताए ।
संवैधानिक अस्पष्टताका कारण केही विवाद जस्तो देखिए पनि गुणदोषको भागिदार मन्त्रिपरिषद् नै हुने भएकाले राष्ट्रपतिलाई विवादमा तान्न नहुने उनको भनाई थियो ।
भट्टराईले जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि राष्ट्रपति, प्रधानमन्त्री एवं सबै दल मिलेर जानुको बिकल्प नभएको बताए ।
कालो झण्डाद्वारा प्रधानमन्त्रीको स्वागत
धौलागिरि अञ्चल अस्पतालको उद्घाटन पछि कर्मचारीलाई निर्देशन दिन जाने क्रममा प्रधानमन्त्री भट्टराईलाई विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले विरोध स्वरुप कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्रीले देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियु क्रान्तिकारीलगायतले कालोझण्डा देखाएका हुन् ।
कालो झण्डा दखाउने क्रममा प्रहरीले लाठी चार्ज गर्दा आधा दर्जन विद्यार्थी घाइते भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

प्रतिक्रिया