प्रविधि प्रयोगमा नेपालीको पहुँच बढ्यो

काठमाडौं, १३ मंसिर । राष्ट्रिय जनगणना ०६८ को नतिजाले दूरसञ्चार तथा सूचना प्रविधिमा नेपालीको पहुँच बढेको देखाएको छ । पछिल्लो एक दशकमा यो क्षेत्रमा भएको तीव्र विकासले गर्दा प्रविधिमा आममानिसको पहुँच बढेको हो ।
जनगणनाको नतिजाअनुसार ग्रामीण क्षेत्रसम्म पनि दूरसञ्चारको पहुँच पुगेको छ । ग्रामीण क्षेत्रमा ६० प्रतिशत जनतासँग मोबाइल छ भने ४ प्रतिशतको पहुँच ल्यान्डलाइन टेलिफोनमा छ । सहरी क्षेत्रमा भने सय जनामध्ये २२ जनासँग टेलिफोन र ८४ जनासँग मोबाइल सुविधा रहेको नतिजाले देखाएको छ । यसपटकको जनगणनामा इन्टरनेट प्रयोगकर्ताको समेत गणना गरिएको छ । यसअनुसार सहरी क्षेत्रमा १२ प्रतिशत जनसंख्या इन्टरनेट सुविधाको प्रयोग गर्छन् भने ग्रामीण क्षेत्रमा इन्टरनेट प्रयोग गर्न पाउनेको संख्या तीन प्रतिशत छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि दूरसञ्चारमा नेपालीको पहुँच उल्लेख्य रूपमा बढेको देखाउँछ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ६६ दशमलव १४ प्रतिशत जनसंख्यामा दूरसञ्चार सेवाको पहँुँच पुगेको छ । यसमध्ये ५९ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् । इन्टरनेटमा पनि करिब २० प्रतिशत नेपालीको पहुँच पुगिसकेको छ ।
जनगणनाअनुसार ६७ दशमलव २६ प्रतिशत परिवारमा विद्युत् सुविधा पुगेको छ । दश वर्षअघि यो सुविधा उपयोग गर्ने परिवार ३९ प्रतिशत मात्रै थियो । दश वर्षअघि ५८ प्रतिशत नेपालीले मट्टीतेल उपयोग गर्ने गरेकामा अहिले त्यो घटेर १८ प्रतिशतमा झरेको छ ।
ग्रामीण क्षेत्रसम्म एफएम रेडियोको विस्तार भए पनि रेडियो सेट प्रयोग गर्नेको संख्या भने घटेको हो । एफएम बज्ने सस्ता मोबाइल सेटको सर्वसुलभताले यस्तो नतिजा देखिएको हो । ०६८ मा रेडियो प्रयोग गर्नेको संख्या ५१ प्रतिशत छ । यो संख्या ०५८ मा ५३ प्रतिशत थियो । सहरी क्षेत्रमा ५४ प्रतिशतसँग रेडियो छ भने गाउँमा ५० प्रतिशतले रेडियो प्रयोग गर्छन् । टेलिभिजन प्रयोगकर्ताको संख्या भने बढेको छ ।
सहरी क्षेत्रका ६० प्रतिशतले टेलिभिजन सुविधा उपयोग गर्छन् भने ग्रामीण क्षेत्रमा ३१ प्रतिशत परिवारसँग टेलिभिजन सुविधा छ । केबल टेलिभिजन सुविधा पनि ग्रामीण क्षेत्रसम्म पुगेको देखिएको छ । ग्रामीण क्षेत्रका ११ प्रतिशत जनताको केवल टेलिभिजनमा पहुँच छ । सहरी क्षेत्रमा भने ५३ प्रतिशत परिवारसँग केबल टेलिभिजनको सुविधा छ । दश वर्षअघिको जनगणनामा भने रेडियो र टेलिभिजन प्रयोग गर्नेको संख्या मात्र गणना गरिएको थियो ।
सहरी क्षेत्रमा सय परिवारमध्ये २४ परिवारसँग कम्प्युटर सुविधा छ भने गाउँमा यो प्रतिशत ३ छ । सवारीसाधनतर्फ सहरी क्षेत्रमा ४ प्रतिशतसँग मोटर, २४ प्रतिशतसँग मोटरसाइकल र ३० प्रतिशतसँग साइकल सुविधा छ । ग्रामीण क्षेत्रमा भने एक प्रतिशतसँग मोटर, ६ प्रतिशतसँग मोटरसाइकल र ३३ प्रतिशतसँग साइकल सुविधा छ ।

प्रतिक्रिया