सहकारी सुधार कार्ययोजना निर्माण

काठमाडौं, १३ मंसिर । सहकारी क्षेत्रमा देखिएका विकृतिलाई नियन्त्रण गर्न सहकारी विभागले सहकारी क्षेत्र सुधार कार्ययोजना निर्माण गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत गई सञ्चालन भइरहेकाले विभागले सुधार कार्ययोजना निर्माण गरेको हो । यस कार्ययोजनालाई केही दिनभित्रै सार्वजनिक गर्ने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सौर्यलाई जानकारी दिए ।
सहकारी अनुगमनका क्रममा देखिएका समस्या समाधान र सहकारी सिद्धान्तअनुरूप संस्था सञ्चालन गराउनु कार्ययोजनाको उद्देश्य रहेको न्यौपानेले जानकारी दिए । ‘सहकारीमा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘सुधार कार्ययोजनाले यसलाई नियन्त्रण गर्ने छ ।’ सहकारी संस्थालाई ऐन, मापदण्डअनुरूप सञ्चालन गर्न पनि यस कार्ययोजनाले सहयोग गर्ने छ । सहकारी विभागले गरेको अनुगमनमा सहकारी समस्याग्रस्त देखिए पनि विभागले यस्तो कदम चालेको उनको भनाइ छ । समस्यालाई तत्काल रोक्न नसके समग्र सहकारी अभियानलाई असर गर्ने सहकारी विभागको भनाइ छ ।
०६६ माघदेखि नेपाल राष्ट्र बैंकका अधिकारीसहित विभागका कर्मचारीले वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने केही सीमित सहकारीको मात्र अनुगमन गरेको छ । अनुगमनमा अधिकांश सहकारीले सहकारी ऐन, ०४८ र सहकारी मापदण्ड, ०६८ विपरीत कारोबार सञ्चालन गरेको फेला पारेको थियो । अनुगमनका क्रममा कार्यक्षेत्रबाहिर गएर कारोबार गरेको, गैरसदस्यलाई कारोबार तथा कर्जा प्रवाह गरेको, कर्जा धितो कार्यक्षेत्रबाहिरको लिने गरेको, खराब कर्जा, तरलता नराख्ने गरेको भेटिएको थियो ।  तर, कमजोर कानुनका कारण ती सहकारीका सञ्चालकलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।
विशेषगरी सहर केन्द्रित सहकारीमा देखिएको यस्तो समस्यालाई नियन्त्रण गरिने विभागको दाबी छ । ‘सहकारीमा देखिएको समस्यालाई जसरी पनि नियन्त्रण गर्छौं,’ रजिस्ट्रार न्यौपानेले भने, ‘अनुगमन र कारबाही प्रक्रिया सँगैसँगै लैजाने छौँ ।’ अनुगमनमा गल्ती भेटिएका सहकारीलाई कारबाही गर्ने हो भने पुन: गल्ती नदोहोर्‍याउने उनले बताए ।
सहकारी शिक्षा कमी भएका कारण विभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सूचनामार्फत सहकारीबारे जानकारी दिइने विभागले जनाएको छ । यो कार्ययोजना केही दिनभित्रै सार्वजनिक गरिने विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार हाल देशभर २५ हजार तीन सय ७१ सहकारी छन् । सहकारीमा करिब ३७ लाख मानिस आबद्धध छन् । सहकारीमा हाल दुई खर्ब ६३ अर्ब रुपियाँ रकम छ ।

प्रतिक्रिया