एनआरटी र आरसिटीको अग्रता

काठमाडौं : यस वर्षको लिगको सुरुआत नै रोमाञ्चक अवस्थामा पुगेको समयमा एनआरटीले अनपेक्षित रूपले अग्रता कायम गरेको छ । मंगलबार सबै टोलीले दुई–दुई खेल खेलिसक्दा एनआरटीको ६ अंक छ । एनआरटीले मंगलबार नेपाल आर्मी क्लबलाई १–० ले पराजित गर्‍यो । मंगलबार नै फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको आरसिटीको पनि ६ अंक छ । एनआरटीलाई जित दिलाउने क्रममा अजय बिकले ४२औँ मिनेटमा गोल गरे । उनले अकिनसँग राम्रो समन्वय गर्दै डिबक्सको एजबाट गोल गरेका थिए ।
यसअघि भएको खेलमा नीरस प्रदर्शन गरेको फ्रेन्ड्स क्लब ६०औँ मिनेटमा दोस्रो गोल खाएपछि वास्तविक लयमा फर्के पनि त्यो धेरै ढिला भइसकेको थियो । नेपाली फुटबलमै फरक क्लास भए पनि समय–समयमा मात्र वास्तविक फर्ममा देखिने नीराजन खड्काले नै फ्रेन्ड्सका लागि गोल गरेका थिए । ५०औँ मिनेटमा पहिलो अग्रता दिलाएका दीपेश थापाले नै आरसिटीका लागि दोस्रो गोल गरेका थिए । ८४औँ मिनेटमा जगजित श्रेष्ठको क्रसमा दीपक गुरुङको हेड बाहिरिएपछि फ्रेन्ड्स पराजय स्विकार्न बाध्य भएको हो । ओलावालेको प्रहार गोलपोस्टमा लागेर फर्केपछि दीपेशले पहिलो गोल गरेका थिए ।  त्यसको चार मिनेटअघि मात्र शेखर लिम्बूलाई प्रतिस्थापन गर्दै दीपेश मैदान प्रवेश गरेका थिए ।
एनआरटीसँगको खेलमा पनि आर्मीले केही राम्रो अवसर गुमाएको थियो । ८५औँ मिनेटमा टेक बुढाथोकीले सबैभन्दा राम्रो अवसर गुमाए । यसैगरी, नवयुग श्रेष्ठले पनि एउटा राम्रो अवसर गुमाएका थिए । (सौस)

प्रतिक्रिया