बोल्ट र फेलिक्स वर्षका उत्कृष्ट एथलिट

न्युयोर्क : जमैकाका युसान बोल्ट र अमेरिकी धाविका एलिसन फेलिक्स वर्षका उत्कृष्ट एथलिट घोषित भएका छन् । क्यारेबियन स्प्रिन्टर बोल्टले चौथोपटक अवार्ड पाएका हुन् । बोल्टले यसअघि सन् २००८, २००९ र २०११ मा पनि यो अवार्ड पाएका थिए । फेलिक्सले पहिलोपटक अवार्ड जितेकी हुन् । बोल्टले लन्डन ओलम्पिक्समा ९.६९ सेकेन्डमा १ सय तथा १९.३२ सेकेन्डमा २ सय मिटरको स्वर्ण पदक जितेका थिए । यो दुवै समय वर्षको सबैभन्दा छिटो समय पनि हो । लन्डन ओलम्पिक्समै ३६.८४ सेकेन्डमा कुदेर ४ गुणा १ सय मिटरमा विश्वकीर्तिमान कायम गर्ने जमैकाको टोलीमा पनि उनी समावेश थिए ।
उनले यस वर्ष एक सय मिटरमा सात प्रतियोगितामा सहभागिता जनाउँदा ६ मा पहिलो स्थान पाए भने २ सय मिटरका चारमध्ये तीन प्रतिस्पर्धामा उपाधि जिते ।
सन् २००५, २००७ र २००९ मा २ सय मिटरकी विश्व च्याम्पियन भएकी २७ वर्षीया फेलिक्सले लन्डन ओलम्पिक्समा स्वर्ण पदक जितिन् । उनी चार गुणा ४ सय र ४ गुणा ४ सय मिटर रिलेको स्वर्ण विजेता अमेरिकी टोलीकी पनि सदस्य थिइन् । उनले युएस ट्रायलमा दुई सय मिटर दौड २१.६९ मा कुदेकी थिइन्, जुन समय वर्षको छिटो र इतिहासकै चौथो छिटो समय हो । उनी सन् १९८८ पछि एउटै ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने पहिलो महिला धाविका बनेकी थिइन् ।
लन्डन ओलम्पिकमै १ मिनेट ४०.९१ सेकेन्डको विश्वकीर्तिमानसहित ८ सय मिटर दौडमा स्वर्ण पदक जितेका केन्याली धावक डेभिड रुढिसा वर्षका उत्कृष्ट पर्फरमर भए । आइएएफ इन्सपिरेसन अवार्ड १ सय १० मिटर हर्डल्सका ओलम्पिक स्वर्ण पदक विजेता अमेरिकाका एरियास मेरिटलाई प्रदान गरियो । पुरुष ज्याभलिन थ्रोका ओलम्पिक स्वर्ण विजेता ट्रिनिडाड एन्ड टोबागोका केसरन वालकोटले राइजिङ मेल प्लेयर अफ द इयर अवार्ड पाए । महिला राइजिङ प्लेयरको अवार्ड बहामाजकी एन्टोनिक स्ट्राचनले पाइन् । पत्रकारिता पुरस्कार केन्याका एलियस माकोरीले पाए । (एजेन्सी)

प्रतिक्रिया