बुधबारदेखि बढ्यो लोडसेडिङ

काठमाडौं, १२ मंसीर । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ ।
सातामा ४६ घण्टा लोडसेडिङ हुँदै आएकोमा प्राधिकरणले लोडसेढिङ बढाएर ५६ घण्टा पुराएको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । उनका अनुसार हिउँदसँगै विद्युतको उत्पादन घट्दै गएपछि लोडसेडिङ बढाइएको हो । अब प्रत्येक दिन आठ घण्टा लोडसेडिङ हुनेछ ।
अहिले करिब एक हजार मेगावाटको हाराहारीमा माग रहेकोमा ३ सय ७० मेगावाट उत्पादन जलविद्युतमार्फत हुँदै आएको छ । भारतबाट ८० मेगावाट विद्युत आयात हुने गरेको छ ।
टनकपुरबाट नेपाल आयात हुँदै आएको लाइन मर्मतका लागि बन्द गरिएपछि अहिले ३० मेगावाट विद्युत केही दिनदेखि बन्द छ ।
उर्जा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले १० घण्टामा लोडसेडिङ झार्नका लागि निर्देशन दिएपनि लोडसेडिङ बढ्न लागेको हो ।
आगामी हिउँदमा १९ घण्टा लोडसेडिङ प्रक्षेपणा गरिएकोमा कुलेखानी जलाशययुक्त आयोजना भरिएको कारणले १७ घण्टासम्म हुने अनुमान गरिएको छ । भारतबाट दुई मेगावाट विद्युत ल्याउनका लागि भारतीय सरकार प्रमुखसँग भट्टराईले आग्रह गरी सकेका छन् ।

प्रतिक्रिया