खोकीको औषधिले मृत्यु

लाहोर : पाकिस्तानको लाहोर सहरमा खोकीको औषधि (रातो झोल) खाँदा कम्तीमा १३ जनाको ज्यान गएको छ ।
मृतकले खोकीको औषधि धेरै सेवन गरेको र यसमा विषादीसमेत मिसाइएको पाइएको समाचारमा उल्लेख छ । औषधि सेवनबाटै ती नागरिकको ज्यान गएको खुलेपछि औषधि उत्पादन गर्ने कम्पनी तथा औषधि बेच्ने पसल बन्द गरिएको छ ।
पाकिस्तानको लाहोरनजिकै पर्ने साहद्रा गाउँमा ती नागरिक मारिएका हुन् । मृत्यु भएका उनीहरू लागुपदार्थका अम्मली रहेको पनि खुल्न आएको छ । सो गाउँका निम्न आय भएका नागरिकले यस्तो औषधि निरन्तर रूपमा प्रयोग गर्ने गरेको र उनीहरूले जानाजानी लागुपदार्थको लतका कारण औषधि सेवन गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।
गाउँको स्थानीय प्रहरी चौकीका प्रमुख अतिफ जुल्फिकरले सो स्थानका नागरिकले निरन्तर रूपमा त्यस्ता औषधि सेवन गर्ने गरेको पाइएको उल्लेख गरे । पाकिस्तानमा यस्ता नक्कली औषधि उत्पादन र सेवन आमरूपमा हुने गरेको छ ।
त्यस्ता औषधि कम्पनीलाई सरकारले बन्द गराउने गरेको भए पनि समस्या समाधान हुन सकेको छैन । यसअघि जनवरीमा पनि लाहोरमै यस्तै औषधि सेवनबाट करिब सय मुटुरोगीको ज्यान गएको थियो । (एएफपी)

प्रतिक्रिया