“अरूभन्दा लोकगीत गाउन गाह्रो”

लोकगायन नै किन रोज्नुभो ?
लोकगीतप्रति सानैदेखि लगाव थियो । सानैदेखि सुनेका गीत गुनगुनाउने गर्दथेँ । बुझ्दै जाँदा लोकगीतमार्फत संस्कृतिको संरक्षण गर्न सकिने ठहर्‍याएँ । त्यसैले यतातिर लागेँ ।
कस्तो गीतलाई लोकगीत भन्ने ?
समाजका दु:खपीडालाई परम्परागत लोकशैली अनि लयमा मादल ,सारंगी, बाँसुरी आदि मौलिक बाजाको प्रयोग गरेर गाइने गीत नै लोकगीत हो ।
अहिलेका लोकगीतमा परम्परागत शैली पाइँदैन नि ?
लोकगीत उही हो । तर, अहिलेको पुस्ताले आधुनिक वाद्यवादन प्रयोग गरेर नयाँ शैलीमा गाउने गरेको छ । त्यसैले यो परिवर्तन भएझैँ देखिएको हो ।
लोकगीत गाउनेको चर्चा अन्य विधाका गायक/गायिकाजस्तो छिटो हुँदैन भनिन्छ नि ?
यो दृष्टिकोणले फरक पार्ने कुरा हो । पहिले लोकगीत गाउनेलाई उति सुविधा थिएन । सबैले लोकगीत मनपराउँदैनथे । तर, अहिले परिवर्तन भएको छ । लोकगीत पनि सबैको प्रिय भएको छ । लोकगीत गाउनेको चर्चा अन्य विधाभन्दा बढी हुने गरेजस्तो लाग्छ मलाई त ।
लोकगीतमा पनि माया–प्रेमकै कुरा किन बढी ?
श्रोताको चाहनाअनुसार चल्ने हो । अहिलेका स्रोता माया–प्रेम, मिलन–बिछोडजस्ता भावनाकै गीत बढी रुचाउँछन् । गाउँघरका पीडा, समस्या देखाइएका एल्बम उति चल्दैनन् ।
लोकगीत गाउन कतिको सजिलो छ ?
गाउन सबैभन्दा गाह्रो नै लोकगीत हो । हरेक ठाउँमा किड्स लिनुपर्छ, हारमोनियमको पूरै नोट खेलाउनु पर्ने हुन्छ । अन्य गीत एकैछिनमा सिकेर गाउन सकिन्छ । लोकगीत त्यति सजिलो छैन ।
गायनमा लागेर सबैभन्दा खुसी भएको क्षण ?
आफ्नै एल्बम हलेसी–जमुनाले सफलता कमाउँदा । मैले सोचेभन्दा सफल भयो एल्बम । मलाई निकै चर्चामा पुर्‍यायो ।
लोकगीत गाएर गुजारा चल्ने अवस्था छ ?
सुरुमा त गाह्रो थियो । खान–लाउन नपाएर निकै दु:ख पनि झेलेको छु । तर, चर्चा कमाएपछि स्टेज कार्यक्रममा पनि सहभागी हुन पाइन्छ । एल्बममा गाउन पाइन्छ । स्टान्डर्ड तरिकाले नभए पनि साधारण तरिकाले बाँच्न चाहिँ पुग्छ ।
लोकगायनबाहेक अर्को कुनै क्षेत्र रोज्नुपरे कहाँ जानुहुन्छ ?
त्यस्तो अवस्था त नआउला । आइहालेछ भने महिला हिंसासम्बन्धी क्षेत्रमा काम गर्छु, पहिले पनि त्यसैमा काम गर्थें ।

प्रतिक्रिया