बालबालिकालाई पढ्ने वातावरण

सुर्खेत, १२ मंसिर । ‘बालबालिका अबोध हुन्छन् । त्यसैले उनीहरूलाई मानसिक प्रभाव पर्ने शब्द पनि विद्यालयमा बोल्दैनौँ,’ कालिका निमावि गुप्तिपुरका प्रधानाध्यापक बालाराम सापकोटाले भने, ‘विद्यालयलाई शान्तिक्षेत्र बनाउने अभियानमा सबैको साथ उत्तिकै चाहिन्छ ।’
साापकोटा मात्र होइन, विद्यालयका अरू शिक्षक/शिक्षिका र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि बालबालिकाप्रति उत्तिकै जिम्मेवार छन् । विद्यालयबाहेक  समाजमा हिँडडुल गर्दा र चिया पसलमा चिया गफ हुँदासमेच अपशब्द बोल्न हिच्किचाउँछन् उनीहरू । बालबालिका पनि यही समाजका भएकाले उनीहरूले बोलेका शब्द बालबालिकाले सुन्छन् कि भनेर उनीहरू ख्याल गर्छन् ।
बालबालिकालाई जवाफदेही बनाउन आफैँ सतर्क हुनुपर्ने भएकाले विद्यालयको मूलगेटबाट भित्र प्रवेश गरेपछि कुनै पनि शिक्षक/शिक्षिकाले चर्काे स्वरमा बोल्नसमेत प्रतिबन्ध लगाइएको सापकोटा बताउँछन् । बस्तीदेखि अलि टाढा र जंगलकिनारमा अवस्थित विद्यालय बाहिरको कोलाहलपूर्ण वातावरणबाट पनि टाढा भएकाले शान्त छ ।
विद्यालयलाई शान्त र सुरक्षित राख्न माथिल्लो निकायबाट आर्थिक सहयोग नभए पनि विद्यालयले आफ्नै प्रयासमा मासिक एक हजार रुपियाँ पारिश्रमिक दिएर सुरक्षा गार्डसमेत राखेको छ । ‘अपरिचित व्यक्तिलाई सिधै विद्यालय प्रवेशमा रोक लगाएका छौँ,’ कामका विषयमा मूलगेटमा रोकेर सोधपुछ गरिसकेपछि मात्र भित्र प्रवेश गर्न दिन्छौँ,’ सापकोटाले भने । अपरिचित व्यक्ति सिधै विद्यालय प्रवेश गर्दा बालबालिका तर्सने र आत्तिने भएकाले विद्यालयको वातावरणलाई शान्त राख्न यसो गरिएको उनले बताए ।
‘मलाई आफ्नो विद्यालय नगई खानै रुच्दैन, शनिबार पनि बिदा नभइदिए हुन्थ्योझैँ लाग्छ,’ कक्षा–७ मा अध्ययनरत धनसरा सोमैले भनिन्, ‘विद्यालयमा बालबालिकाप्रति गरिएको व्यवहार नमुना नै लाग्छ ।’ दीपा सुवेदी पनि यस्तै सुनाउँछिन् । विद्यालय शान्त र कोलाहलमुक्त रहेकाले उनीहरू खुसी छन् । यति मात्रै होइन, विद्यालयलाई शान्ति क्षेत्र बनाउन विद्यालयले आफैँ बाल क्लबसमेत गठन गरेको छ ।
विद्यालय र बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्न विद्यालय व्यवस्थापन समितिले राजनीतिक दलका कार्यक्रम विद्यालयमा गर्न नदिने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशुराम सोमैले बताए । ‘विद्यालय र बालबालिकालाई दलगत राजनीतिबाट टाढा राख्नु अभिभावकको दायित्व हो,’ उनले भने, ‘त्यसैले हामीले यस्तो निर्णय गरेका हौँ ।’
आफूले पढ्दा र पढाउँदाको अनुभव सुनाउँदै प्रधानाध्यापक सापकोटाले भने, ‘आफूले पढ्दा सरको डर लाग्थ्यो तर अहिले बालबालिका गुरुहरूसँग निर्धक्क भएर मनका कुरा भन्छन् ।’ उनले पहिलेको तुलनामा विद्यालयमा शान्ति कायम भएको बताए ।
विद्यार्थीलाई विज्ञान र प्रविधिसँग जोड्न कम्प्युटर शिक्षासमेत विद्यालयमा उपलब्ध गराइएकाले उनीहरूमा पढ्ने जाँगर बढेको विद्यालयको दाबी छ । विभिन्न क्षेत्रसँग पहल गरी विद्यालयमा ६, ७ र ८ कक्षामा आधारभूत कम्प्युटर शिक्षाका लागि आठवटा कम्प्युटर व्यवस्था गरिएको छ ।

प्रतिक्रिया