इंग्ल्यान्डको सानदार जित

मुम्बई, १२ मंसिर । स्पिनरद्वय ग्रेम स्वान र मन्टी पानेसर मिलेर १९ विकेट लिएपछि इंग्ल्यान्डले भारतविरुद्ध जारी चार टेस्ट म्याचको शृंखलाअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा १० विकेटको जित हात पारेको छ । यो नतिजासँगै शृंखला १–१ को बराबरीमा पुगेको छ ।
पानेसरले ६ र स्वानले ४ विकेट लिएपछि दोस्रो इनिङमा इंग्ल्यान्डले भारतलाई १ सय ४२ रनमा सीमित गर्‍यो र प्राप्त ५७ रनको लक्ष्य विनाविकेट क्षति पूरा गर्‍यो । प्रारम्भिक ब्याट्सम्यानद्वय निक कम्पटनले ३० र एलेस्टर कुकले १८ रन जोडेर खेलको चौथो दिन प्रस्तुत लक्ष्य सजिलै पूरा गरे ।
यसअघि भारतको दोस्रो इनिङ निकै कमजोर रहयो । गौतम गम्भीरले ६५ र रविचन्द्रन आश्विनले ११ रन जोड्नुबाहेक भारतीय इनिङमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पानेसरले २२ ओभर बलिङ गरी तीन मेडन राखेर ८१ रन खर्चिए । त्यस्तै १८.१ ओभर बलिङ गरेका स्वानले ६ मेडन राख्दा भारतीय खेलाडीले उनीबाट ४३ रन मात्र लिन सके ।
पानेसरले यस खेलमा ११ विकेट लिए भने स्वानको संख्या आठ रहयो । यी दुईको प्रदर्शनपछि भारतले पहिलो इनिङमा ३ सय २७ रन जोडेको थियो । यता इंग्ल्यान्डले कुक र केभिन पिटरसनको शतकीय इनिङमा ४ सय १३ रन जोडेर ८६ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा १ सय ८६ रन बनाएका इंग्ल्यान्डका पिटरसन म्यान अफ दि म्याच भए । पहिलो टेस्टमा इंग्ल्यान्डले हार बेहोरेको थियो । इंग्ल्यान्डले पछिल्लोपटक भारतमा छ वर्षअघि टेस्ट जित हात पारेको थियो ।

दक्षिण अफ्रिकाको बहादुरी
पाँचौँ तथा अन्तिम दिन सम्हालिएर प्रदर्शन गर्दै दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध जारी तीन टेस्ट म्याचको शृंखलाअन्तर्गत दोस्रोमा बराबरी गरेको छ । यस शृंखलाको पहिलो खेल पनि बराबरी भएको थियो । ४ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर २ सय ४८ रन जोड्यो । ७७–४ को स्थितिबाट अन्तिम दिनको खेल अगाडि बढाएको दक्षिण अफ्रिकाका लागि एफ डु प्लेसिसले सानदार प्रदर्शन गरे । उनले एक सय १० रनको योगदान गरे । पाँचौँ र छैटौँ विकेटका लागि गरेको साझेदारी नै दक्षिण अफ्रिकालाई बराबरीको नतिजा जिताउन सफल रहयो । प्लेसिसले पाँचौँ विकेटका लागि एबडी भिलियर्स(३३) सँग ७९ र छैटौँ विकेटका लागि ज्याक कालिस(४६) सँग ९९ रनको साझेदारी गरेका थिए । नाथन ल्योनले तीन र पिटर सिडलले चार विकेट लिए पनि दक्षिण अफ्रिकाको हार टार्न सकेनन् । पहिलो टेस्ट शतक बनाउँदै टोलीलाई सम्हाल्ने क्रममा २८ वर्षीय प्लेसिसले नटआउट रहनुअघि ३ सय ७६ बल सामना गरी १४ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया