प्रधानमन्त्री बन्ने लालच छैन : देउवा

डडेलधुरा, ११ मंसिर । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने लालच नरहेको बताएका छन् । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि अन्य राजनीतिक दलले कांग्रेसलाई प्रधानमन्त्री उम्मेदवार तय गर्न सुझाएका बेला नेता देउवाको यस्तो अभिव्यक्ति आएको हो ।
सुदूरपश्चिम भ्रमणमा रहेका नेता देउवाले डडेलधुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिए । कांग्रेस नेतृत्वमा सरकार बन्ने सहमति भए पार्टीभित्र प्रधानमन्त्री चयन गर्ने विषयमा कुनै विवाद नहुने दाबी देउवाले गरे । ‘म प्रधानमन्त्रीको लालची छैन, नेपाली कांग्रेसभित्र सरकारको नेतृत्वका विषयमा विवाद हुनेछैन,’ उनले भने ।
सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिको आह्वान सकारात्मक रहेको टिप्पणी गर्दै उनले अबको सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने धारणा व्यक्त गरे । एकीकृत माओवादीले भनेजस्तो उसकै नेतृत्वमा कुनै हालतमा पनि सहमतिको सरकार निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया