इंग्ल्यान्ड जिततर्फ अग्रसर

मुम्बई, ११ मंसिर । स्पिनरहरू हाबी भइरहेको खेलमा मन्टी पानेसरले उत्कृष्ट प्रदर्शनलाई कायम राखेपछि इंग्ल्यान्ड भारतविरुद्धको चार टेस्ट म्याचको शृंखलाअन्तर्गत दोस्रोमा जिततर्फ अग्रसर भएको छ । केभिन पिटरसन र एलेस्टर कुकको शतकपछि पहिलो इनिङमा ८६ रनले अग्रता लिएको इंग्ल्यान्डका लागि पानेसरले पाँच विकेट लिएपछि भारतले तेस्रो दिनको खेल समाप्त हुँदासम्म आइतबार दोस्रो इनिङमा सात विकेट गुमाउँदै १ सय १७ रन जोडेको छ । पानेसरका अतिरिक्त अर्का स्पिनर ग्रेम स्वानको नाममा पनि दुई विकेट रह्यो ।
पानेसरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । १६ ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै ६१ रन खर्चिएका स्पिनर पानेसरले वीरेन्द्र सेहवाग, सचिन तेन्दुलकर, युवराज सिंह, महेन्द्रसिंह धोनीलाई व्यक्तिगत दोहोरो अंक छुन दिएनन् । ११ रनको योगदान गरेका रविचन्द्रन आश्विन पनि पानेसरको सिकार भए । दिनको समाप्तिमा प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर ५३ र हरभजन सिंह एक रनमा नटआउट छन् । इंग्ल्यान्डका ग्रेम स्वानले पनि दुई विकेट लिए । स्पिनर स्वानले पहिलो इनिङमा शतक बनाएका चेतेश्वर पुजारासँगै विराट कोहलीलाई आउट गरे ।
यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय १३ रन जोड्यो । पिटरसनले १ सय ८६ र कप्तान कुकले १ सय १२ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि २ सय ६ रनको साझेदारी गरेका थिए । शतकसँगै पिटरसनले टेस्ट क्रिकेटमा इंग्ल्यान्डका तर्फबाट सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान बराबरी गरे । दुवै खेलाडीको टेस्ट शतक संख्या २२ पुगेको छ । बलिङतर्फ भारतका स्पिनर प्रज्ञान ओझाले पाँच विकेट लिए । पहिलो टेस्टमा उनले ९ विकेट लिएका थिए । यता पानेसरले पनि ठूलो सफलता हात पारेका छन् । सन् १९३० को दशकमा स्पिनर हेड्ली भेराइटीले एउटै टेस्ट म्याचमा १० विकेट लिएयता पानेसर यो सफलता हात पार्ने इंग्ल्यान्डका लागि पहिलो स्पिनर भए ।
अस्ट्रेलिया बलियो स्थितिमा
दक्षिण अफ्रिकाविरुद्ध जारी तीन टेस्ट म्याचको शृंखलाअन्तर्गत दोस्रो म्याचमा अस्ट्रेलिया बलियो स्थितिमा रहेको छ । ४ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको खेल समाप्ति हुँदासम्म चार विकेट गुमाएर ७७ रन जोडेको छ । अस्ट्रेलियाका लागि नाथन ल्योनले दुई विकेट लिए भने पिटर सिडल र बेन हेल्फेनहौसले समान एक विकेट लिए । पहिलो इनिङमा ५ सय ५० रन जोड्दै दक्षिण अफ्रिकालाई ३ सय ८८ रनमा सीमित गरेको अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ६७ रन जोडेको थियो । यस शृंखलाको पहिलो खेल बराबरी भएको थियो ।

प्रतिक्रिया