विपक्षीद्वारा आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, १० मंसिर । कांग्रेस, एमालेसहितका विपक्षी दलहरुले राष्ट्रपतिले सहमतीय सरकारका लागि गरेको आव्हानलाई सरकारले गलत ढङ्गले व्याख्या र विरोध गरेको आरोप लगाएका छन् ।
उनीहरुले सरकारले राष्ट्रपतिको विरोध गर्नुका साथै विभिन्न आरोप लगाएर आफ्नो आयु लम्ब्याउने अनुचित र अलोकतान्त्रिक कार्य गरेको बताए ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको विपक्षी दलहरुको बैठक पछि जारी विज्ञप्तिमा मंसिर–१४ गते सम्म सहमतीय सरकार बनाउन गरिएको राष्ट्रपतिको आह्वानको स्वागत गरिएको छ ।
राष्ट्रपतिले मंसिर–८ गते राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न सरकार र दलहरुलाई मंसिर–१४ गतेसम्मको समयसीमा तोकी दिईसके छन् ।
‘राष्ट्रपतिको आव्हानलाई सकारात्मक रुपमा ग्रहण गर्दै राजनीतिक सहमतिका लागि अग्रसर हुन एमाओवादी, मधेसी मोर्चासम्बद्ध दललगायत सबै राजनीतिक दलहरु एवं प्रधानमन्त्रीलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले लोकतन्त्रको पक्ष तथा सर्वसत्तावाद र निरंकुशता विरुद्ध आन्दोलनरत रहेको समेत उल्लेख गरेका छन् ।
त्यसै गरेर विपक्षी दलहरुले मंसिर–१५ र १६ गतेका सम्मका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छन् । ‘राष्ट्रपतिको आव्हानलाई ध्यानमा राखेर तत्कालका लागि वार्तामा केन्द्रीत रहनुपरेकोले मंसिर–१५ र १६ गतेको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, राजपा अध्यक्ष सूर्यबहादुर थापा, चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष भूमिराज निरौलालगायतको सहभागिता रहेको थियो ।
संयुक्त वक्तव्य

बारम्बारको प्रयत्नबाट पनि राजनीतिक र संवैधानिक समाधान नआएपछि राष्ट्रपतिज्यूले यही मंसिर ८ गते राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठनका लागि मंसिर १४ गतेसम्मको समयसीमा तोकी गर्नुभएको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य छ । यसले राजनीतिक दलहरुलाई निश्चित समयभित्र सहमति कायम गर्दै राजनीतिक सहमतिको आधारमा नयाँ सरकार गठन गरी समस्याको समाधान गर्न प्रेरित गर्नेछ । सम्माननीय राष्ट्रपतिज्यूको आव्हानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य हो । अतः सम्माननीय राष्ट्रपतिज्यूबाट भएको आव्हानलाई सकारात्मक रुपमा ग्रहण गर्दै राजनीतिक सहमतिका लागि अग्रसर हुन एनेकपा (माओवादी), मधेशी मोर्चासम्बद्ध दल लगायत सबै राजनीतिक दलहरु एवं प्रधानमन्त्रीलाई हामी आग्रह गर्दछौं ।
हामी लोकतन्त्रको पक्ष तथा सर्वसत्तावाद र निरंकुशता विरुद्ध आन्दोलनरत छौं । यो आन्दोलनको उद्देश्य नयाँ संविधान निर्माणकालागि ताजा जनादेश र त्यसका लागि सहमतिको सरकार गठन हुनुपर्छ भन्ने हो । यस परिप्रेक्ष्यमा सहमतिको सरकार निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको आव्हानलाई ध्यानमा राख्दै तत्कालका लागि वार्तामा केन्द्रीत रहनुपरेकोले मंसीर १५ र १६ गतेको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ ।

क्र.सं. दलका नेताको नाम पद राजनीतिक दल हस्ताक्षर
1 सुशील कोइराला सभापति नेपाली काँग्रेस

– झलनाथ खनाल अध्यक्ष नेकपा (एमाले)
– पशुपतिशमशेर जबरा अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
– सी.पी. मैनाली महासचिव नेकपा (माले)
– चन्द्रदेव जोशी अध्यक्ष नेकपा (संयुक्त)
– सूर्यबहादुर थापा अध्यक्ष राष्ट्रिय जनशक्ति पार्टी
– डा. भाष्कर गुप्ता उपाध्यक्ष नेपाल सद्भावना पार्टी (आ.)
– भूमिराज निरौला अध्यक्ष चुरेभावर राष्ट्रिय एकता पार्टी
– देबेन्द्र मिश्र अध्यक्ष नेपाल सद्भावना पार्टी (आ.)
-हिक्मतबहादुर देउवा अध्यक्ष समाजवादी जनता पार्टी
-लोकनारायण सुवेदी अध्यक्ष नेकपा (संयुक्त माक्र्सवादी)
-अच्युतराज ज्ञवाली पो.व्यू. सदस्य नेकपा (माक्र्सवादी)
-साध्यबहादुर भण्डारी महासचिव जनमोर्चा नेपाल
-प्रकाश अधिकारी महासचिब नेकपा (संयुक्त माक्र्सवादी)
-विष्णुराज अर्याल अध्यक्ष नेकपा (माले जनसमाजवादी)
-एस्.वी. क्षेत्री कार्यकारी प्रमुख नेपाली समाजवादी परिषद्

मितिः २०६९/०८/१०

प्रतिक्रिया