पूर्वसहसचिव रञ्जितकार भ्रष्टाचारी

 

काठमाडौ, ९  मंसिर । विशेष अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयका पूर्वसहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद सजाय र करिब ९१ लाख बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतले शुक्रबार सरकारी सेवामा रहँदा रञ्जितकारले ४५ लाख ४५ हजार पाँच सय तीन बराबरका गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ । अदालतले बिगो बराबर जरिवाना र उनलाई एक वर्ष कैद सजाय सुनाएको प्रवक्ता धीरबहादुर चन्दले जानकारी दिए ।
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको हो । उनी र उनका परिवारजनका नाममा रहेको ४० लाख ६७ हजार सात सय बराबरको सेयर र सेयरबाट बढेको रकम र चार लाख बराबरको सवारीसाधनबाट तथा अपुग ७७ हजार आठ सय तीन बैंक मौज्दातबाट जफत गर्न विशेषले सरकारलाई आदेश दिएको छ ।
रञ्जितकार र उनका परिवारसँग घर, जग्गा, सवारीसाधन, सेयर, बैंक ब्यालेन्सलगायत दुई करोड ५२ लाख आठ हजार बराबरको सम्पत्तिमध्ये र दुई करोड ६ लाख ६२ हजार आठ सय ६४ बराबरको सम्पत्ति वैध र ४५ लाख ४५ हजार पाँच सय तीन अवैध भएको ठहर गरिइएको छ । रञ्जितकारले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ फागुन ०६१ मा विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, विशेषले सेवाअवधि सकिएको दुई वर्षपछि मात्र मुद्दा चलाएको भन्दै उनलाई सफाइ दिएको थियो । २१ असार ०६३ मा हदम्यादको कारण देखाई विशेषले मुद्दा खारेज गरे पनि अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वाेच्चले ३० फागुन ०६८ मा हदम्यादको कारण देखाई सफाइ दिने निर्णय उल्टाई मुद्दाको तथ्यभित्र प्रवेश गरी फैसला सुनाउन आदेश दिएपछि पुन: मुद्दा विशेषमा पुगेको थियो ।
असिस्टेन्ट इन्जिनियर भएर ०२९ वैशाखमा सरकारी सेवामा प्रवेश गरेका रञ्जितकार विभिन्न निकाय हुँदै भौतिक योजना तथा निर्माण मन्त्रालयबाट सहसचिव पदमा ०५८ भदौमा सेवा निवृत्त भएका थिए ।

 

प्रतिक्रिया