‘इजरायली जासुस’को हत्या

जेरुसेलम : इजरायलका लागि जासुसी गरेको आशंकामा गाजा सहरमा ६ जनालाई चरम यातना दिई हत्या गरिएको छ । इजरायलविरुद्ध संघर्षरत् प्यालेस्टाइनी योद्धाले संदिग्ध जासुसमध्ये एकलाई मोटरसाइकलमा बाँधेर घिसार्दै सहर परिक्रमा गरेका थिए । इजरायलको विरोधमा नाराबाजी गरिरहेका मानिसका बीचमा लगेर सबैको खुलेआम हत्या गरिएको थियो । प्यालेस्टाइनका राष्ट्रघातीलाई सबक सिकाउन यसो गरिएको हतियारधारीहरूको भनाइ छ ।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा हुनुअघि उनीहरूको हत्या भएको हो । गाजा सहरमा इजरायलले स्थलगत सैन्य कारबाहीको तयारी गरेको चर्चा चलेका बेला संदिग्ध जासुसको पाशविक तरिकाले हत्या गरिएको थियो । हत्या गरिएका सबैले हमासका अधिकारी र इस्लामिक जिहादी लुकेको स्थानको जानकारी दिएर इजरायलको हवाई आक्रमणलाई सघाएको आरोप प्यालेस्टाइनी लडाकुले लगाएका छन् ।
प्यालेस्टाइनको हमाससँग आबद्ध सुरक्षा अधिकारीलाई उद्धृत गर्दै हमास अक्सा रेडियोले जनाएअनुसार ‘भिडियो फुटेज लिन आवश्यक पर्ने सरसामाग्रीसहित अत्याधुनिक उपकरणबाट सुसज्जित इजरायली जासुस’हरूलाई रंगेहात पक्राउ गरिएको हो । (एजेन्सी)

इजरायल–प्यालेस्टाइन युद्धविराम
कायरो : इजरायल र प्यालेस्टाइनबीच साताअघिदेखी जारी भिडन्त मंगलबार रोकिएको छ । छिमेकी राष्ट्र इजिप्टले अघि सारेको युद्धविराम प्रस्तावमा इजरायल र प्यालेस्टाइनले बुधबार बेलुका सहमति जनाएपछि संघर्षको केन्द्र बनेको गाजा सहरको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि, छिटफुट भिडन्तका घटना भने अझै जारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युद्धविराम घोषणा भएको केहि घन्टामै प्यालेस्टाइनतर्फबाट इजरायली भूमिमाथि रकेट आक्रमण भएको थियो । जवाफमा इजरायली सेनाले पश्चिम किनारबाट आतंकवादी क्रियाकलापमा सरिक भएको आरोपमा ५५ प्यालेस्टाइनीलाई पक्राउ गरेको छ ।
इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीको अग्रसरतामा युद्धविराम भएको हो । युद्धविराम सम्झौतामा इजरायलले प्यालेस्टाइनी समूह हमाससित गाजापट्टी क्षेत्रमा सैन्य कारबाही नचलाउने र प्यालेस्टाइनले इजरायलमाथि रकेट आक्रमण बन्द गर्ने उल्लेख छ ।
प्यालेस्टाइनबाट हुने रकेट आक्रमण रोक्न भन्दै इजरायलले गाजामा आक्रमक सैन्य कारबाही थालेपछि दुई पक्षबीच भिडन्त चर्किएको थियो । भिडन्तमा प्यालेस्टाइनले ठूलो क्षती
बेहोरेको थियो । भिडन्त अवधिभरमा करिब एक सय ५० प्यालेस्टाइनीको मृत्यु भयो भने इजरायलले आफ्ना पाँच नागरिक मात्रै गुमायो ।
युद्धविराम प्रस्तावमा इजरायलले गाजासँग जोडिएको सीमा खुला गर्नुपर्ने तथा मालसामान र नागरिकको अन्तरसीमा आवतजावतमाथि गरिएको कडाइ खुकुलो गर्न वार्ता अघि बढाउनुपर्ने उल्लेख छ ।
युद्धविराम प्रस्तावलाई हमासले आफ्नो विजयका रूपमा लिएको छ । इजरायलसँगको भिडन्तमा विजय हासिल गरिएको भन्दै खुसियाली मनाउन हमासले बिहीबार प्यालेस्टाइनमा सार्वजनिक बिदा आह्वान गरेको थियो ।
विरोधी पक्षले युद्धविराम आचारसंहिता उल्लंघन गरे ‘हातमा दहि जमाएर नबस्ने’ चेतावनी इजरायल र प्यालेस्टाइन दुवै पक्षले दिएक छन् । ‘इजरायलले संझौता पालन गर्छ भने हामी पनि गर्छौं । यदि, उसले सम्झौता भंग गर्न खोजेको खण्डमा बन्दुकको नाल तेर्साएर हामी पनि भिडन्तका लागि तयारी अवस्थामा बसेका छौँ,’ प्यालेस्टाइनका निर्वासित नेता खालिद मेसालले कायरोमा आयोजित एक सम्मेलनमा भने । उता इजरायली रक्षामन्त्री एहुद बाराकले भने प्यालेस्टाइनले गोली प्रहार गर्नेलगायत अवस्थालाई उत्तेजित पार्ने कुनै पनि काम गरेको खण्डमा के गर्नुपर्छ भन्ने ज्ञान आफूहरूलाई रहेको चेतावनी दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया