करिष्मा कपुर अब डिभोर्सी हुने

मुम्बई : बलिउड अभिनेत्री करिष्मा कपुरले उद्योगपति सञ्जय कपुरसँग विवाह गरेको समय धेरै भएको छैन तर उनीहरू छुट्टिने हल्ला भने पटकपटक हुने गरेको छ । सधैँ सम्बन्धविच्छेदको तहसम्म पुग्ने यो जोडी बच्चाको विषयलाई लिएर फेरि मिल्दै गरेको थियो । यसपटक भने यो जोडी निर्णायक तबरले नै छुट्टिने चर्चा बलिउडमा चल्न थालेको छ । पछिल्लो समय उनीहरूबीचको प्रमुख विवाद आफ्ना दुई सन्तान कसले राख्ने भन्नेबारे रहँदै आएको हो । कानुनी रूपमा बच्चा दुवैले बराबरी समय राख्न पाउने भए पनि करिष्मा र सञ्जय भिन्न–भिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि बच्चाका विषयमा झमेला परेको अनुमान गरिएको छ ।
करिष्मा मुम्बइमा बस्छिन् भने सञ्जयले हाल आफ्नो वासस्थान दिल्ली बनाएका छन् । त्यसैले पनि बच्चा कोसँग रहने भन्ने निक्र्योल हुन सकेको छैन । करिष्माले अभिषेक बच्चनसँगको अफेयर अन्त्य गरेपछि सञ्जयसँग विवाह गरेकी थिइन् भने सञ्जयले पनि आफ्नो पहिली श्रीमती फेसन डिजाइर नन्दिता मेहतानीलाई डिभोर्स दिएका थिए । तर, उनीहरूको वैवाहिक जीवन कहिल्यै सुखमय हुन सकेन । सन् २००५ मा छोरी समायराको जन्मपछि नै सम्बन्धमा कटुता आएपछि करिष्मा सञ्जयसँग छुट्टिएर मुम्बईमा बस्दै आएकी थिइन् । तर, सन् २०१० मा फेरि उनीहरूबीच सहमति भएपछि सञ्जयसँगै रहँदै आएकी करिष्माले यसै वर्ष छोरा पनि जन्माइन् । तर, यहीबीच सञ्जयको एक महिला उद्यमी प्रिया चटवालसँग अफेयर चलेको समाचार सार्वजनिक भएपछि पुन: करिष्मा–सञ्जयबीचको सम्बन्ध नराम्ररी बिग्रियो । हाल उनीहरू सम्बन्धविच्छेद गर्ने आपसी सहमतिमा पुगिसकेका छन् । अब उनीहरूलाई अदालती कागजपत्रको मात्र आवश्यकता रहेको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया