असइसहित दुई प्रहरी निलम्बित

नेपालगन्ज, ८ मंसिर । धमापुर प्रहरी चौकी बैजापुरको हिरासतबाट दलित युवक बेपत्ता भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेले दुई प्रहरीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
हिरासतमा रहेका अभियुक्तको सुरक्षा गर्न नसकेको र युवक बेपत्ता भएको घटना लुकाएको ठहर गर्दै प्रहरी चौकीका इन्चार्ज असइ चुडामणि थापा र डिउटीमा रहेका प्रहरी जवान रामबहादुर घर्तीलाई निलम्बन गर्न सिफारिस गरिएको हो । ‘प्रहरी जवानमाथि जिल्लाबाटै कारबाही हुन्छ, चौकी इन्चार्जलाई निलम्बन गर्न डिआइजी कार्यालय सुर्खेतमा सिफारिस गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विक्रमसिंह थापाले जानकारी दिए । उनले घटनामा प्रहरीको गम्भीर लापरबाही भएको बताए ।
गाउँकै युवतीलाई करणी गर्न खोजेको आरोपमा पक्राउ परेका बिनौना–८ का २० वर्षीय दीपक परियार धमापुर प्रहरी चौकीबाट २३ भदौमा बेपत्ता भएका थिए । जीवित वा मृत कुन अवस्थामा छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया