पेन्टी लगाएको सद्दामको फोटो विवादमा

लन्डन : एक इराकी जेलमा इराकका पूर्व तानशाह सद्दाम हुसेनले पेन्टी लगाएको फोटो प्रकाशित गर्ने सञ्चार कम्पनी न्युज कर्प छानबिनको दायरामा पर्ने भएको छ । न्युज कर्पसँग आबद्ध पत्रिका ‘द सन’ र ‘न्युयोर्क पोस्ट’ले सन् २००५ को मेमा सो फोटो प्रकाशन गरेका थिए । ‘डेली बिस्ट’ पत्रिकाले सद्दामको फोटो हात पार्न न्युज कर्पले अमेरिकी अधिकारीलाई मोटो रकम घुस दिएको आरोप मंगलबार लगाएपछि फोटो विवाद बल्झिएको हो । स्मरण रहोस, न्युज कर्प मिडिया ‘टाइकुन’ रुपर्ट मुड्डोको प्रकाशन समूह हो ।
समाचार अनुसार फोटो प्रकाशित भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले जेलभित्रको फोटो कसरी सार्वजनिक भयो भन्ने विषयमा आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए । तर, अहिलेसम्म फोटो कसरी ‘लिक’ भयो भन्ने सार्वजनिक भएको छैन ।
‘द सन’का पूर्व व्यवस्थापकीय सम्पादक ग्राहम डुडम्यानले फोटो हात पार्न आफूहरूले पाँच सय पाउन्डभन्दा बढी रकम खर्चिएको जानकारी दिएका छन् । अमेरिकी सैन्य स्रोतमार्फत पत्रकारिताको आचारसंहिताअन्तर्गत रहेर फोटो हात पारिएको उनले प्रस्ट पारेका छन् । तर, डेलि बिस्टले भने निक्कै ठूलो रकम घुस खुवाएर फोटो हात पारिएको दाबी गरेको छ । रकम नखुलाइए पनि अमेरिकी भूमीमा पैसा लेनदेन भएको र फोटो खरिद गर्न ‘न्युज कर्प’ले आफ्नो फोटोपत्रकारलाई अमेरिकाको क्यालिफोर्निया पठाएको ठोकुवा समाचारमा गरिएको छ । पक्राउ परेपछि मानवताविरुद्धको अपराध गरेको अभियोगमा सद्दामलाई बग्दादनजिकैको ‘क्याम्प क्रोप्पर’ काराबासमा सन् २००४ को जनवरीदेखि अप्रिलसम्म राखिएको र त्यही बेला फोटो खिचिएको हुनसक्ने अनुमान अमेरिकी सेनाले गरेको छ ।
न्युज कर्पका प्रवक्ताले घुस ख्वाएको भन्ने समाचार निराधार रहेको प्रस्ट पार्दै सद्दामजस्ता युद्ध अपराधीबारे समाचार हुनलायक विषय खोजेर प्रकाशित गर्नु गलत नभएको बताए । न्युज कर्प यसरी विवादमा आएको यो पहिलो पटक होइन । बेलायतका सरकारी कर्मचारीलाई न्युज कर्पले घुस दिएकोबारे अमेरिकाको एफबीआइ र अन्य सुरक्षा एजन्सीले अझै अनुसन्धान गरिरहेका छन् । आरोप प्रमाणित भए घुस लिने अधिकारीलाई जरिबाना र न्युज कर्पका वरिष्ठ अधिकारीलाई काराबास सजाय मिल्नेछ । (डेलिमेल)

प्रतिक्रिया