ओबामाले क्लिन्टनलाई मध्यपूर्व पठाए

कायरो : इजरायल र प्यालेस्टाइनबीचको विवादित भूमि गाजापट्टीमा रकेट हानाहान नरोकिएपछि संकट समाधानका लागि अमेरिकाले कुटनीतिक अग्रसरता लिएको छ । यसका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले विदेशमन्त्री हिलारी क्लिन्टनलाई मंगलबार मध्यपूर्व पठाएका छन् । क्याम्बोडियामा आयोजित दक्षिणपूर्वी एसियासम्बन्धी बैठकमा ओबामाका साथ सहभागि हुन पुगेकी क्लिन्टनलाई ओबामाले मध्यपूर्व पठाएका हुन् । त्यहाँ विदेशमन्त्री क्लिन्टनले इजरायली प्रधानमन्त्री तथा प्यालेस्टाइनी तथा इजिप्टका अधिकारीहरूसँग गाजा क्षेत्रमा युद्धविराम गराउने विषयमा परामर्श गर्नेछिन् ।
इजरायल र प्यालेस्टाइनी समूह हमासबीच विगत सात दिनदेखी जारी भिडन्तमा मंगलबारसम्ममा एक सय १३ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने आठ सय ४० घाइते भएका छन् । मारिनेमा ५४ सर्वसाधारण रहेको र घाइतेमध्ये दुई सय २५ बालबालिका रहेको गाजाका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । प्यालेस्टानतर्फबाट प्रहार गरिएको रकेट लागेर तीन इजरायलीको मृत्यु भएको जनाइएको छ । प्यालेस्टाइनर्फबाट रकेट प्रहार जारी राखिएको छ भने इजरायलले प्यालेस्टाइन क्षेत्रमा भिषण हवाई आक्रमण गरिरहेको छ ।
भिडन्त रोकिने छाँटकाँट नदेखिएपछि इजरालले कारबाहीलाई व्यापक बनाउन स्थल आक्रणको तयारी गरिरहेको छ । सीमा क्षेत्रमा संचित फौजको संख्या बढाउनेलगायतका सैन्य तयारी तिब्र पारिएको छ । इजरायली सेनाले स्थलगत कारबाही गरे ठूलो मानवीय क्षती हुने जोखिम बढिरहेकाले संकट समाधानका लागि अमेरिकाले कुटनीतिक अग्रसरता लिएको हो । इजरायलको सम्भावित स्थलगत कारबाहीको मध्यपूर्वमा चर्को आलोचना भइरहेको छ ।
स्मरण रहोस्, इजरायल अमेरिकाको रणनीतिक साझेदार राष्ट्र हो । अमेरिकासँग मिलेर इजरायलले स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गर्ने प्यालेस्टाइनको अग्रसरतालाई कुटनीतिक र फौजी दुवै मोर्चामा चुनौती दिँदै आएको छ । त्यसैले अमेरिकाको कुटनीतिक अग्रसरताप्रती मध्यपूर्वका आमजनता विश्वस्त हुन नसकेको इरान, प्यालेस्टाइनलगायतबाट प्रकाशित हुने सञ्चारमाध्यममा जनाइएको छ । विदेशमन्त्री क्लिन्टनले बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसपछि कायरो पुगेर इजरायली नेतासँग परामर्श गर्नुपूर्व पश्चिम किनारस्थीत रामल्लाह पुगेर उनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासँग युद्धविरामबारे छलफल गर्ने समाचारमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया