गुल्मी, ५ मंसिर । प्राकृतिक उपचारका नाममा रकम ठगी गर्दै हिँडेकालाई प्रहरीले विनाकारबाही छाडेको छ ।
अर्खाबाङममा गैरकानुनी रूपमा शिविर सञ्चालन गरेर रकम बटुलेका बाग्लुङ रिघा–५ का योगेश भुजेल र अर्खाबाङका शिक्षक डिल्लीराज अर्याललाई प्रहरीले विनाकारबाही छाडेको हो ।
भुजेल र अर्यालले अर्खाबाङस्थित पैँयापाटा मध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेर ठगी गरेका हुन् । उनीहरूले २१ कात्तिकमा शिविर सञ्चालन गरेका थिए ।
उनीहरूलाई २७ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले पैँयापाटा माध्यमिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिको समेत सहयोगमा गाउँमा प्रशासनको स्वीकृतिविनै विद्यालय बन्द गरेर शिविर सञ्चालन गरेका थिए । व्यक्तिगत रूपमा लाभ हुने काममा विद्यालय बन्द गरेर शिविर सञ्चालन गर्ने विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले समेत कुनै कारबाही गरेको छैन ।
उनीहरूले प्राकृतिक चिकित्सा नामक शिविरमा डिटोक्स मेसिन प्रयोग गरेर सर्वसाधारणको खुट्टा पानीमा डुबाएर उपचार गरेका थिए । बाथ, युरिक एसिड, ट्युमर, पत्थरी, मधुमेह, ढाड, कम्मर दुख्ने, महिनावारी गडबडी, ग्यास्ट्रिकलगायत रोग निको पार्ने भन्दै ६० भन्दा बढी व्यक्तिसँग एक हजार रुपियाँका दरले रकम असुलेका थिए ।
उपचार गराएपछि आफूहरूलाई झन् बढी समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका थिए । गैरकानुनी रूपमा मेसिन भित्र्याएर उपचार गरेका उनीहरूलाई प्रहरीले विनाकारबाही छाडेको हो ।
प्रतिक्रिया