लगातार ६४ दिन निद्रामा

न्युयोक, ४ मंसिर । तपाईं कति घन्टासम्म लगातार निदाउन सक्नुहुन्छ ? अधिकांशले आठदेखि बढीमा २४ घन्टासम्मको जवाफ दिनुहोला । तर, विश्वमा यस्ता पनि मानिस छन् जो ६४ दिनसम्म लगातार सुतेका छन् भन्दा पत्याउनु हुन्न भने तपाईंको तर्क गलत हुनेछ ।

पेनसिल्भानियाकी १७ वर्षीय एक किशोरीले कुनै समय यसरी निद्रा यात्रा तय गरिन् जसले उनको परिवारलाई निकै चिन्तामा पार्‍यो । निकोल डेलिएन नाम गरेकी उनी अहिले पनि दैनिक १८ देखि १९ घनटासम्म सुत्ने गरेकी छिन् । उनी स्वस्थ्य अवस्थामै यतिधेरै समय सुतेकी भने होइनन् । चिकित्सकले यी किशोरीको समस्या क्लाइन–लेभिन अर्थात् सन्तुलित निद्राको खल्बलीले भएको बताएका छन् । उनीहरूका अनुसार किशोरावस्थामा यो समस्या देखिन सक्छ ।
आफ्नो निद्राको अवधिमा उनी खाना खान उठ्छिन् र बाथरुम पनि जान्छिन् त्यसपछि पुन: सुत्छिन् तर यी सबै काम गरेको डेलिएनलाई थाहा नै हुँदैन । एक वर्ष यस्तो भयो कि उनी जनवरीमा निद्राबाट उठ्नुअघि ओछ्यानमा लगातार ६४ दिन बिताइन् ।
डेलिएनकी आमा भिकीले आफ्नी छोरी दैनिक बढीमा छ घन्टा मात्र सुत्ने गरेको बताइन् । उनका अनुसारमा निद्रामा हिँडेजसरी डेलिएन उठ्छिन, खाना खान्छिन्, बाथरुम जान्छिन् र पुन: सुत्छिन् । डेलिएनका अभिभावक एक टेलिभिजन टक सोमा पनि गए जहाँबाट उनीहरूले सम्पूर्ण अभिभावकलाई आफ्नी छोरीको समस्या बताएर सचेत गराए । भिकीले डेलिएनको समस्याबारे डाइग्नोसिस गर्दा धेरै नै दु:ख पाएको बताइन् । ‘छोरीलाई के भएको भनी थाहा पाउन धेरै अस्पताल चहार्नुपर्‍यो,’ भिकीले भनिन् ।
पिटर्सवर्गस्थित एलिघेनी जनरल अस्पतालका एक चिकित्सक डेलिएनको समस्याको वास्तविक कारण पत्ता लगाउन सफल भएका थिए । यसपछि भने उक्त समस्या समाधान गर्न के–कस्तो उपाय अपनाउन सकिन्छ भन्नेबारे डेलिएनका अभिभावकले प्रशस्त सुझाव पाए । ‘यस रोगबाट प्रभावित मानिस केही साता, महिना वा वर्षसम्म पुग्दा पनि उनीहरूमा कुनै लक्षण देखापर्दैन । र, त्यसपछि भने समस्या देखिन सक्छन्,’ एक स्वास्थ्य रिपोर्टमा भनिएको छ । अक्सफोर्ड जर्नलमा प्रकाशित रिपोर्टअनुसार अत्यधिक निद्राका अलावा केटाकेटीको जस्तो व्यवहार, अत्यधिक यौन चाहना, एकाग्रता नहुनुजस्ता लक्षण पनि देखिन सक्छन् । तर, विभिन्न स्वास्थ प्रतिवेदनले यसखाले समस्या बढी किशोरहरूमा देखिने बताए पनि यो के कारणले हुन्छ भन्नेबारे अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।
यस समस्याका कारण डेलिएनले जीवनमा धेरै महत्त्वपूर्ण कुरा छुटाएकी छिन् । उनले केहीपटक क्रिसमस, जन्मदिन मनाउन छुटाइन् भने आफ्नो परिवारको डिस्ने वल्र्ड यात्रा दौरान उनी भने निद्राकै यात्रामा थिइन् । उनले पप गायक केटी पेरीसँग पनि भेट गर्न पाइनन् । डेलिएन गत अगस्टमा लामो समयसम्म निदाइन् । उनले एकपटक निद्राबाट ब्युँझेपछि पुन: अर्कोपटक आउन सक्ने सोही समस्याले आफूलाई चिन्तामा राख्ने गरेको बताउने गरेकी छिन् ।

प्रतिक्रिया