काठमाडौं, ४ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा छैटौँ राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम तथा सातौँ राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्स आइतबार काठमाडौंमा सुरु भयो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सेमिनारको उद्घाटन गरे । उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै निर्णायक समितिका संयोजक एवं संघका केन्द्रीय सदस्य नन्दकुमार राईले सम्पूर्ण सहभागीलाई सेमिनारबाट बढीभन्दा बढी लाभ लिन सुझाव दिएका थिए ।
त्यसैगरी नेपाल तेक्वान्दो संघका महासचिव एवं विश्व तेक्वान्दो महासंघका विशिष्ट श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक दीपराज गुरुङले सेमिनारको औचित्य तथा महत्त्वबारे प्रकाश पारे । सोही अवसरमा कार्यक्रमका सभापति तथा संघका अध्यक्ष राणाले संघको वार्षिक कार्यक्रम एवं नीतिअनुसार सञ्चालित कार्यक्रमबाट तेक्वान्दो निर्णायकहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढीभन्दा बढी सुसूचित हुने अवसर पाउने बताए । वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं केन्द्रीय सदस्य अर्जुनबहादुर विकले सञ्चालन गरेको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि लामाले खेलकुद क्षेत्रलाई राजनीतिबाट सधैँ टाढा राखी खेलकर्मीबाट नै मुलुकको खेलकुदलाई अगाडि बढाउनुपर्ने कुरा व्यक्त गर्दै सेमिनारको सफलताको कामना गरे । उक्त अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भोजबहादुर शाह तथा कल्याणकुमार तिम्सिना र कोषाध्यक्ष रविराज सिंहलगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया