भक्तपुर २९ कात्तिक । कांगे्रस सभापति सुशील कोइरालाले एमाओवादीले विश्वासको वातावरण भत्काईसकेकाले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन अनिवार्य भएको बताएका छन् ।
कांग्रेसले आज भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारको वहिर्गमन भए मात्रै सहमतिको आधार बन्ने बताए ।
‘प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान विपरित कार्य गर्दै आएका छन्,’ उनले भने, ‘यस्तो अबस्थामा भट्टराईले पदत्याग गरेर राजनीतिक सहमतिका लागि मार्ग प्रशस्त गर्नु पर्छ ।’
कोइरालाले एमाओवादीलाई तानाशाहको संज्ञा दिए । उनले भने, ‘सिरिया, लिवियाका तानाशाह परास्त भए जस्तै एमाओवादीको तानाशाहलाई कांग्रेसले समाप्त बनाउँछ ।’
उनले सरकारको वहिर्गमन नभए सडकबाट घुँडा टेकाएरै छाड्ने दाबी गरे ।
कांग्रेस नेता शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले आगामी निर्वाचनलाई समेत असर पर्ने गरी बजेट ल्याउन खोजेको आरोप लगाए ।
उनले सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।
प्रतिक्रिया