भक्तपुर २९ कात्तिक । नेकपा—माओवादीका उपाध्यक्ष सिपी गजुरेलले दलका नेताहरुबीच पटक पटक बैठक बसे पनि तत्काल निकास आउन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रपतिले जतिपटक नेताहरुलाई बोलाएर निर्देशन दिए पनि सहमति नहुने दाबी गरे ।
‘मुलुक दुई धुब्रमा बाँडिएको छ,’ उनले भने, ‘एकथरि सरकार छोड्दै नछाड्ने र अर्काथरि यो सरकारलाई मान्दै नमान्ने अबस्था रहेसम्म संविधान बन्दैन ।’ उनले सत्तारुढ दलहरुका कारण जनताको शान्ति र संविधान पाउने अधिकारमा तुषारापात भएको छ ।
‘आमाको गर्भबाट सुन्दर शिशु जन्मने बेला देशका बद्मास र अपराधीले शिशु नजन्मीदै भ्रुणको हत्या गरेर संकट ल्याएका छन्,’ उनले भने ।
उनले वर्तमान अवस्थामा संबिधान नबन्ने समेत बताएका छन् । उनले भने, ‘संविधान बनाउन अब नयाँ बाटो अबलम्बन गर्नुपर्छ ।’
‘गर्भपतन गराई भ्रुम हत्या भईसकेपछि फेरि भ्रुम जन्मीन्छ भनेर आशा गर्नु बेक्कार हो,’ उनले भने, ‘अब नयाँ गर्भबाट नयाँ शिशुको जन्म गराउनु पर्छ ।’ सौर्य
प्रतिक्रिया