काठमाडौं, २७ कात्तिक । पदाधिकारी नियुक्तिमा राजनीतिक दबाब आइरहेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जका डिन डा. प्रकाश सायमीले दिएको राजीनामा अस्वीकार भएको भएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले आइतबार डा. सायमीको राजीनामा अस्वीकार गरी संस्थानमा रिक्त चार सहायक डिन पदमा योग्यता र वरिष्ठताका आधारमा नियुक्तिको निर्णय गरेको छ । बैठकले डिन डा. सायमीले वरीयताका आधारमा सिफारिस गरेका व्यक्तिलाई नै सहायक डिनमा नियुक्त गरेको हो ।
चार वर्षका लागि नियुक्ति पाएको ८१औँ दिनमा बुधबार डा. सायमीले राजीनामा दिएका थिए । वरीयताका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने भन्दै वरिष्ठ प्राध्यापक डा. गोविन्द केसी अनशन बसेको छैटौँ दिन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा त्रिवि कार्यकारी परिषद्ले २ भदौमा डा. सायमीलाई डिन नियुक्त गरेको थियो । नियुक्तिपछि उनले ६ गते अन्य पदाधिकारीको नाम नियुक्तिका लागि सिफारिस गरेका थिए । एक वर्षभन्दा लामो समयदेखि रिक्त ती पदमा राजनीतिक नियुक्ति गर्न दबाब आएपछि उनले राजीनामा दिएका थिए ।
डिनको राजीनामालगत्तै संस्थानमा आन्दोलन हुने संकेत देखिएपछि परिषद् बैठकले डिनको राजीनामा अस्वीकार गर्दै डा. विमल सिन्हा, डा. शरद वन्त, डा. भरतमणि पोखरेल र सरला श्रेष्ठलाई सहायक डिनमा नियुक्त गरेको हो । बैठकले डा. विमललाई योजना, डा. भरतलाई परीक्षा, डा. वन्तलाई शैक्षिक र सरलालाई नर्सिङ प्रशासन हेर्ने गरी नियुक्त गरेको छ । उनीहरूलाई त्रिवि ऐनअनुसार नियुक्त गरिएको उपकुलपति डा. हीराभक्त महर्जनले बताए ।
प्रतिक्रिया