विपक्षीलाई अलमलाउने रणनीतिः कोइराला

काठमाडौं, २६ कात्तिक । कांगे्रस सभापति सुशील कोइरालाले एकीकृत माओवादीले जतिसुकै अधिनायकवाद लाद्न खोजेपनि अन्ततः सहमतिमा आउनुको विकल्प नभएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा उनले एकपछि अर्को गर्दै अधिनायकवाद लाद्न खोज्ने एमाओवादी एकदिन सहमतिका लागि तयार हुने दाबी गरे ।
उनले भने, ‘मुलुकको राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि जुट्नुपर्ने समयमा एमाओवादीले वजेटको मुद्दा अघि सारेर विपक्षी दललाई अलमलमा पारेको छ ।’ उनले एमाओवादीलाई इमान्दारिताकासाथ सहमतिमा आउन आग्रह गरे ।
‘एमाओवादीले विपक्षीलाई सधैँभरि धोका दिएर छलकपटको राजनीतिक गर्ने परिपाटीमा सुधार ल्याउनुपर्छ,’ उनले भने, ‘अहिले एमाओवादीले जालझेलको राजनीतिलाई अगाडि बढाउँदै चारैतिर कब्जा गर्ने मनसायमा सत्तामा केन्द्रित रहेको छ ।’
सभापति कोइरालाले अर्कालाई तर्साउने कार्य बन्द गरी जिम्मेवारीकासाथ प्रस्तुत हुन सुझाव दिए ।
कांगे्रस उपसभापति रामचन्द्र पौडेलले कम्युनिष्ट शासन पक्षपातिको अर्को रुप भएको बताए । उनले अहिले चारैतिर कब्जा गरेर विस्तारै सत्ता कब्जा गर्ने अभ्यासमा एमाओवादी रहेकाले सबै राजनीतिक दल गलत क्रियाकलापका बारेमा चनाखो हुनुपर्ने बताए ।
उनले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नपाउँदै एमाओवादीको अधिनायकवादी चरित्रका कारण पुनः अर्को आन्दोलनमा विपक्षी दलहरु जानुपरेको बताए ।
‘विपक्षीहरुको आन्दोलनलाई मूर्तरुप दिन आम जनताले साथ दिनुपर्छ,’ उनले भने ।’
कांगे्रसका केन्द्रीय सदस्य रामशरण महतले दलहरु निर्वाचनमा जानुको विकल्प नभएको दोहराए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गरी त्यसले नै वजेट ल्याउने तथा नयाँ निर्वाचन गराउनुपर्नेमा जोड दिए ।
उनले संवैधानिक शून्यताको फाइदा उठाउँदै एमाओवादीले चारैतिर कब्जा गर्ने मनसायकासाथ अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया