सहुलियतको नुन लिन बालबालिकाको प्रयोग

 

सुर्खेत, २६ कात्तिक । सहुलियतको नुन र चिनी लिन बालबालिकाको प्रयोग गरिएको छ । दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरेर साल्ट ट्ेरडिङ कर्पाेरेसन सुर्खेतले बिक्री सुरु गरेको नुन र चिनी लिन दिनहुँ बालबालिका लाइन लागेका हुन्छन् ।
नुन र चिनी लिन बालबालिका आफैँ लाइन लागेका होइनन् । स्थानीय व्यापारीले बालबालिकालाई प्रयोग गरेर नुन र चिनी खरिद गर्ने गरेकोसमेत पाइएको छ । लाइनमा बसेका बालबालिकाले समेत आफूहरूलाई व्यापारीले पठाएको बताए । बजारमा ८५ रुपियाँभन्दा बढी मूल्यमा बिक्री भइरहेको चिनी व्यापारीले कम मूल्यमा बेच्न थालेपछि पनि सहुलियतको नुन व्यापारीले बेचेको थाहा भएको छ ।
राप्रपा नेपाल सुर्खेतका सचिव अमृत रानाले व्यापारीले सहुलियतको नुन र चिनी बेचेको प्रत्यक्ष देखेको बताए । उनले साल्ट ट्ेरडिङका कर्मचारीले समेत वास्ता नगरेका कारण कर्मचारी पनि व्यापारीसँग मिलेको हुनसक्ने बताए । ‘दुई दिन यहाँ आइसकँे,’ उनले भने, ‘बालबालिकाले बेच्ने नुन लिन आएको भन्छन् तर कर्मचारी वास्तै गर्दैनन् ।’
नुन र चिनी लिन लाइनमा लागेका एक बालकले आफूले बिहीबार चारपटक नुन र चिनी लगेको बताए । ती बालकले व्यापारीले जतिपटक नुन र चिनी लग्यो, त्यतिपटक आफूलाई चाउचाउ, चक्लेट, बिस्कुट दिने गरेको बताए । एउटै व्यक्तिले धेरैपटक नुन र चिनी लिन लाइनमा बस्दा गाउँका उपभोक्ता भने मारमा परेका छन् ।
शुक्रबार अन्य उपभोक्ताले सहुलियतको नुन र चिनी व्यापारीले बेचेको भन्दै साल्ट ट्ेरडिङभित्रै विरोध गरेपछि केही समय वितरणसमेत रोकिएको थियो । व्यापारीले प्रयोग गरेका बालबालिकालाई हटाइ थप कडाइका साथ पुन: वितरण सुरु गरिएको हो । उपभोक्ताले विरोध गरेपछि सुरक्षाकर्मीसमेत थप गरिएको थियो । टाढाबाट आएका उपभोक्ताले बजारका जनतालाई मात्रै सहुलियतको नुन र चिनी दिएको गुनासो गरेका छन् । पाम्काबाट आएका मनोज रानाले दिनभरि लाइन बस्दा पनि नुन र चिनी नपाएको बताए । उनले नजिकका एउटै मान्छे पटकपटक आएर लैजाने गरेको तर आफूले नपाएको बताए । रानाले एकजना लाइनमै ठाउँ रोकेर बसिरहने र अर्काेले नुन र चिनी लिने गरेको बताए । ग्रामीण क्षेत्रका उपभोक्ताले गाविसबाटै सहुलियतको नुन र चिनी बिक्री गर्नसमेत माग गरेका छन् । उनीहरूले आफूहरूलाई नुन र चिनीकै लागि बजारमा आउँदा दोब्बर खर्च हुने भएको बताए ।
बालअधिकारकर्मीले पनि बालबालिकाको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् । जिल्ला बालकल्याण समिति सुर्खेतले तत्काल १६ वर्षमुनिका बालबालिकालाई कर्पाेरेसनबाट हटाउन अनुरोध गरेको थियो । समितिका बालअधिकार अधिकृत रमा भण्डारी आफँै कर्पाेरेसनमा पुगेर सुरक्षाकर्मीको सहयोगमा लाइनमा बसेका बालबालिकालाई बाहिर निकालेकी थिइन् । भण्डारीले बालअधिकारको दुरुपयोग भएको भन्दै १६ वर्षभन्दा माथिका बालबालिकालाई मात्रै लाइनमा राख्न अभिभावक तथा कर्पाेरेसनका कर्मचारीलाई अनुरोध गरिन् ।

प्रतिक्रिया