लायन्स क्लबमा पदस्थापन

 

काठमाडौं, २६  कात्तिक । लायन्स क्लब अफ काठमाडौं अन्नपूर्ण तथा काठमाडौं ग्लोबल आईका नयाँ सदस्य तथा बोर्ड अफ डाइरेक्टरले पदस्थापन र शपथग्रहण गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा नयाँ सदस्य र डाइरेक्टरलाई शपथग्रहण गराइएको हो ।
लायन्स क्लब अफ काठमाडौं ग्लोबल आईका प्रेसिडेन्ट टेकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पिएमसिसी राम भण्डारी क्षेत्रीले नयाँ सदस्यलाई शपथग्रहण गराएका थिए । कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले गरेका थिए । कार्यक्रममा स्वागत गर्दै जोन चेयरपर्सन तथा लायन्स क्लब काठमाडौं ग्लोबल आईका पूर्वअध्यक्ष वरिष्ठ क्याप्टेन केबी लिम्बूले नयाँ सदस्यलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । उनले लायन्स क्लब स्वयंसेवी संस्था भएकाले मानवसेवामा काम गर्न आग्रह गरे ।
कार्यक्रममा पुराना र नयाँ सदस्यले सिट साटासाट गरेर कार्यभार आदानप्रदान गरेका थिए । क्लबका नवनियुक्त अध्यक्ष चेतबहादुर खड्का र ग्लोबल आईका अध्यक्ष हर्कबहादुर दाहालले लायन्स क्लबमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लबमा विश्वभर १४ लाख सदस्य छन् । एक सय सात देशमा फैलिएको क्लबले विश्वमा अन्धोपन निवारणका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालमा क्लबमा १२ हजारभन्दा बढी सदस्य छन् ।

प्रतिक्रिया