३ सय २५ महिलालाई तलाक

 

नेपालगन्ज, २६ कात्तिक । तलाक मुस्लिम महिलाको पीडा बन्दै गएको छ । पतिले छाडिदिएपछि तलाक पाएका मुस्लिम महिला बाँकेका विभिन्न स्थानमा कष्टपूर्ण जीवन बिताइरहेका छन् । तलाक पाएका सबै महिलाले पतिबाट धन–सम्पत्ति पाएका छैनन् ।
‘न खाने गाँस छ, न बस्ने बास छ, पतिले तलाक दिए, अब मकहाँ जाऊँ ?’ साकरुन अन्सारीले भनिन्, ‘पतिले तीनपटक ‘तलाक, तलाक, तलाक’ भन्दै घरबाट निकालेपछि मुस्लिम महिला सडकमै पुग्छन् ।’
बाँके साइगाउँ निवासी साकरुन विवाह भएको एक सातामै पतिबाट तलाक पाएकी महिला हुन् । साकरुन मात्र होइन, नेपालगन्जका तीन सय २५ मुस्लिम महिला पतिबाट तलाक पाएर सडकमा पुगेका छन् । उनीहरू एक्लो जीवन बिताइरहेका छन् । बाँके परसपुर–७ परसपुरकी बिटु साइँ पीडा सुनाउँछिन्, ‘१७ वर्षकै उमेरमा पतिबाट छुट्टिएर बस्नुपर्‍यो ।’ १५ वर्षमा विवाहबन्धनमा बाँधिएकी बिटुलाई विवाह गरेको दुई वर्षमै पतिले छाडेका थिए ।
परसपुर–८ की जानु दर्जी पनि सहाराविहीन भएकी छन् । पाँच वर्षअघि पतिबाट तलाक पाएकी ३० वर्षीया जानु माइतमै दु:ख गरेर बसिरहेकी छन् । ‘पतिले मलाई मारेर, पिटेर मरेको लासजस्तै फालिदिन्थ्यो । तलाक दिएपछि मलाई आमाबाबुले उठाएर ल्याएका हुन्,’ उनले भनिन्, ‘तीन वर्षसम्म पतिसँग बसे पनि कुनै सन्तान भएनन् ।’
तलाक पाएका मुस्लिम महिला अधिकारका लागि संगठित पनि भएका छन् । नेपालगन्जमा रहेको गैरसरकारी संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले उनीहरूको समस्यालाई उठान गरेको छ । केन्द्रका अध्यक्ष मोहम्मद सेर बागवान भन्छन्, ‘तलाकपीडित मुस्लिम महिला यति पीडामा छन् कि बेघर भएका उनीहरूलाई सरकारले कुनै व्यवस्था गरिदिनुपर्छ भनेर हामी वकालत गरिरहेका छौँ ।’

प्रतिक्रिया