काठमाडौं : उमेर उति धेरै होइन आकांक्षा बस्नेतको तर संगीत क्षेत्रमा उनको पाइला मजबुत हुँदै छ । चार वर्षअगाडि कक्षा ७ मा पढ्दादेखि नै गायनमा संघर्ष सुरु गरेको आकांक्षाले पहिलो एल्बम मेरो आकांक्षा बजारमा ल्याएकी छन्, भर्खरै ।
उनी विन्दवासिनी म्युजिक अवार्डमा बेस्ट फिमेल भोकलका लागि नोमिनेसनमा पनि पर्न सफल भएकी छन् । गत वर्ष टिनएजरहरूको गायन प्रतियोगितामा उत्कृष्ट फिमेल भोकल अवार्ड पाइसकेकी छन् । बुबाआमाको प्रेरणा र सानैदेखिको सोखले गर्दा म्युजिक क्षेत्रमा लागेको उनी बताउँछिन् । हाल संगीतसँगै कक्षा ११ को पढाइलाई पनि अघि बढाइरहेकी छिन् । त्यसो त लुम्बिनी कला केन्द्र र अनुराग संगीत विद्यालयबाट म्युजिकको औपचारिक प्रशिक्षण पनि लिइरहेकी छन् । उनले बुझेकी छन्, ‘अहिले प्रतिस्पर्धा निकै छ, अध्ययन नगर्नेहरू पछि पर्छन् ।’ आकांक्षाको एल्बममा राम्रो छौ, मेरो रूप, तिम्रो सामु, तिमीलाई, नबोलाउ त तिम्ले माया, मायाभन्दा, मेरो नेपाल बोलका आठ गीत छन् । यिनमा पप, आधुनिक, क्लासिक, डान्सिङ शैलीका गीत रहेको उनले बताइन् । यादव खरेल, डा. कृष्णहरि बराल, दिनेश अधिकारी, अमृत रेग्मीले लेखेका गीत समेटिएको एल्बममा राजु सिंह, बिजु बज्र, गैरे सुरेसलगायतले संगीत दिएका छन् । (सौस)
प्रतिक्रिया