सहकारीमा समस्या र जोखिम बढ्दो

काठमाडौं, २४ कात्तिक । सहकारीको संख्यात्मक विकाससँगै पछिल्लो समय समस्या र जोखिम बढ्दै गएको छ । नियमनकारी निकायको कमजोर नियमनका कारण बचत तथा लगानीमा असुरक्षा, कार्यक्षेत्रभन्दा बाहिर ऋण लगानी, ऐनको प्रभावकारी पालना नहुने तथा कमजोर व्यवस्थापन, दोहोरो सदस्यतालगायत जोखिम सहकारी क्षेत्रमा बढ्दै गएका हुन् ।
नियमन, मूल्यांकन, अनुगमन, दण्ड/जरिवानाको व्यवस्था भए पनि सम्बन्धित निकायको कमजोरीकै कारण खुलेआम नियमविपरीत सहकारी संस्था सञ्चालन गर्ने प्रवृत्तिसमेत हावी हँुदै गएको छ । सहकारीको मूल्य/मान्यता र सिद्धान्तविपरीत काम गर्दा सदस्यको लाखौँ गुम्ने, ऋण असुली नहुनेलगायत जोखिम थपिँदै गएको सरोकारवाला वताउँछन् । सहकारी ऐन, मापदण्ड कार्यान्वयन नहुँदा बढी समस्या देखिएको उनीहरूको बुझाइ छ ।
सहकारीको मूल्य/मान्यता र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीमा समस्या र जोखिम बढेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । सहकारीको नाममा आफ्नो निजी व्यवसाय बनाउँदा सहकारीमा समस्या तथा जोखिम बढेको उनको भनाइ छ । ‘जनतालाई सहकारीबारे सूचना अभाव छ,’ रजिष्ट्रार न्यौपानेले भने, ‘जनतालाई सहकारीबारे बुझाउन सके कम जोखिम हुन्छ ।’ कुनै पनि संस्थाको सदस्य बन्दा सञ्चालकबारे राम्ररी बुझेर मात्र सदस्यता लिन पर्ने उनको आग्रह छ । ‘बढी ब्याज दियो भन्दैमा निक्षेप जम्मा गर्ने गरेका छन्,’ न्यौपानेले भने, ‘त्यस्ता सहकारी जुनसुकै बेला पनि दुर्घटनामा पर्न सक्छन् ।’ ऐन, मापदण्डविपरीत सञ्चालन भएका सहकारीलाई कारवाही गर्ने समेत उनले बताए । सहकारीलाई व्यवस्थित रूपले सञ्चालन गर्नका लागि नियमावली, मर्जर निर्देशिका, अनुगमन कार्यविधि निर्माणको क्रममा रहेको सहकारी विभागको भनाइ छ ।
जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल भन्छन् सहकारीको प्रमुख समस्या अनुत्पादक क्षेत्रमा लगानी हो । सहकारीले पनि घर–जग्गामा लगानी गरेको र त्यसको असर विस्तारै विस्तारै देखिन थालेको उनको भनाइ छ । ‘अनुत्पादक क्षेत्रको लगानी रोग्नु पर्छ,’ अध्यक्ष दुलालले भने, ‘यसले गर्दा सदस्यको निक्षेप जुनसुकै समयमा पनि डुब्न सक्छ ।’ सहकारीमा देखिएको समस्या समाधान गर्न विभिन्न संघहरू अग्रसर हुनु पर्ने उनको भनाइ छ । विशेष गरी व्यवस्थापनामा पनि समस्या देखिएको उनले बताए ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत काम गर्ने सहकारीलाई निरुत्साहित गर्नु पर्ने हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेल बताउँछन् । उनका अनुसार शिक्षा, सूचना र तालिमको अभावका कारण सहकारीमा जोखिम तथा समस्या बढेको हो । ‘सहकारीमा सञ्चालक समिति, लेखा समिति, व्यवस्थापक कमजोर छन्,’ पौडेलले भने, ‘जसकारण सहकारीमा समस्या आउनु स्वभावै हो ।’ सहकारी दर्ता गर्नुपूर्व नै शिक्षा, तालिम प्रभावकारी बनााउन सके समस्या र जोखिम कम हुने उनको दाबी छ । ‘बैंक तथा वित्तीय संस्थामा दक्ष मानिसबाट सञ्चालित हुन्छ,’ उनले भने, ‘सहकारी खोल्न दक्ष र धेरै पढ्न पर्दैन ।’ सहकारीको लक्षित वर्ग ग्रामीण जनसमुदाय रहेको र ग्रामीण भेगमा दक्ष तथा पढेलेखेका मानिस कम हुने पनि पौडेलले बताए । सहकारी स्थापना गर्न कुनै आधार नभएकाले सहरमा खुलेका सहकारीमा समस्या तथा जोखिम बढेको उनको दाबी छ ।

प्रतिक्रिया