पुष्प व्यापार मेला सुरु

पोखरा : फ्लोरिकल्चर एसोसियसन अफ नेपाल कास्कीको आयोजनामा बिहीबारदेखि पोखरामा प्रथम क्षेत्रीय गोदावरी प्रदर्शनी एवं पुष्प व्यापार मेला सुरु भएको छ ।
‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसायको प्रवद्र्धनमा वातावरणीय पहिचान’ भन्ने उद्देश्यका साथ पोखरामा पहिलोपटक अयोजना गरिएको मेलामा ४० थरीका गोदावरी फूल र अन्य साढे चार सय जातिको फूल प्रर्दशनीमा राखिएको छ । मेलामा पश्चिमाञ्चलका व्यावसायिक नर्सरीका १६ वटा स्टल रहेका छन् ।
मेलाले पुष्प व्यवसायलाई व्यावसायिक तवरले अगाडि बढाउन आवश्यक सूचना तथा प्रविधिको प्रवद्र्धन गराउने मेला संयोजक वसन्त बानियाले जानकारी दिए । मेलाको १० हजारजनाले अवलोकन गर्ने र मेला सम्पन्न गर्न ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ । पोखरा सभागृहमा सुरु मेला कात्तिक २५ गतेसम्म चल्ने छ ।
पोखरामा पुष्प व्यवसायीले नर्सरीका लागि ५० हजारदेखि ५ लाखसम्म लगानी गरेका छन् । २६ वटाभन्दा बढी व्यावसायिक नर्सरीबाट पोखरामा प्रत्यक्ष दुई सय र अप्रत्यक्ष एक हजारले रोजगारी पाएको एसोसिएसनले जनाएको छ । पोखरामा २७ रोपनी क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ ।
गोदावरी प्रदर्शनी एवं पुष्प व्यापार मेलाको कास्कीका स्थगानीय विकास अधिकारी ईश्वरराज पौडेलले उद्घाटन गरेका हुन् । फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष दयाकुमारको अध्यक्षतामा सम्पन्न मेला उद्घाटनको अवसरमा एसोसिएसनका केन्द्रीय अध्यक्ष लोकनाथ गैरे, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखे, वागबानी विकास कार्यालय मालेपाटनका अधिकृत मनोहर कडरिया, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतले धारणा राखेका थिए । (सौस)

प्रतिक्रिया