काठमाडौं, २३ कात्तिक । वित्त कम्पनीले आफ्नो कर्जामा ब्याजदर कम गर्न नसकेका कारण कर्जाको पोर्टफोलियो विस्तार गर्न अझै कठिनाइ भइरहेको छ । वाणिज्य बैंकले आफ्नो तरलता अवस्था सहज भएपछि विस्तारै ब्याजदर घटाउँदै लगेका कारण तुलनात्मक रूपमा वित्त कम्पनी कम दरमा ऋण विस्तार गर्न असफल भएको हो ।
‘गत वर्ष निक्षेप घटेर समस्या आएको थियो तर यस वर्ष उपयुक्त आयोजना पाउन नसकेर समस्या भइरहेको छ,’ नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने । फाइनान्स कम्पनीहरूले वाणिज्य बैंकको तुलनामा कर्जामा अत्यधिक ब्याज लिइरहेको हँुदा फाइनान्स कम्पनीमा कर्जाको माग नै नभएको उनले बताए । फाइनान्स कम्पनीको कर्जाको माग वाणिज्य बैंकतिर सरेको उनको अनुमान छ ।
चालु आर्थिक वर्षको दोस्रो महिनामा फाइनान्स कम्पनीको कर्जा शून्य दशमलव ५ प्रतिशतले बढेर ९५ अर्ब ५३ करोड रुपियाँ पुगेको छ भने विकास बैंकको भने कर्जामा ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अर्कोतिर वाणिज्य बैंकले भने कर्जामा २ दशमलव १ प्रतिशतले वृद्धि गरी कुल कर्जा आठ खर्ब ४ अर्ब रुपियाँ पुर्याएका छन् ।
‘हामीले अहिले कर्जामा १४ प्रतिशत ब्याज लिइरहेका छौँ किनकि हामीले निक्षेपमा ८ प्रतिशतभन्दा बढी ब्याज दिइरहेका छौँ । यसले गर्दा हामीले कम ब्याजदरमा ऋण खोज्ने ग्राहक विस्तारै गुमाइरहेका छौँ,’ एक राष्ट्रिय स्तरको विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । विगत एक वर्षदेखि वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार आएपछि बैंकहरूले विस्तारै निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउँदै लगेका छन् । ठूला र स्थापित भइसकेका बैंकले व्यक्तिगत कर्जा पनि १५ प्रतिशतभन्दा कम दरमा दिन थालेका छन् तर ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था भने कर्जामा ब्याजदर घटाउनसक्ने अवस्थामा देखिँदैनन् । विशेषगरी निक्षेपकर्तालाई संस्थामा बाँधिराख्न निक्षेपमा ब्याज घटाउन नसक्ने अवस्थामा रहेका कारण उच्च निक्षेप लागतका कारण कर्जामा पनि घटाउन नसकिएको हो । त्यसैगरी गत आर्थिक वर्षमा गैरवाणिज्य बैंकहरूमा औसत ८ दशमलव १६ प्रतिशतमा अन्तर बैंक ब्याजदर रहेको छ भने वाणिज्य बैंकमा भने १ दशमलव २८ प्रतिशत मात्र अन्तर बैंक ब्याजदर रहेको छ जसले पनि विकास बैंक र वित्त कम्पनीको कर्जाको ब्याजदर माथि रहन बाध्य हुने गरेको छ ।
विगत केही वर्षमा तीन विकास बैंक र ६ फाइनान्स कम्पनीलाई खराब संस्थागत सुशासन र तरलता अभावका बीच नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेको थियो । नेपाल विकास बैंक र सम्झना फाइनान्स अहिले खारेजीको प्रक्रियामा रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको यस्ता क्रियाकलापले सर्वसाधारणमा फाइनान्स कम्पनी र विकास बैंकप्रति नकारात्मक भावना जागेको छ । ‘गत वर्ष फाइनान्स कम्पनीहरूबाट धेरै निक्षेप बाहिर गयो तर यस वर्ष निक्षेपको सवालमा यो समस्या छैन,’ वित्त कम्पनी संघका अध्यक्ष श्रेष्ठले अगाडि बताए । संस्थागत निक्षेपकर्ता एकदमै घटे पनि सर्वसाधारणको निक्षेप भने फाइनान्स कम्पनीमा आई नै रहेको उनले जानकारी दिए ।
मर्जर प्रक्रिया धमाधम सम्पन्न भइरहेकाले वित्त कम्पनीको संख्या ७९ बाट ७० मा झरिसकेको छ । यसबाट पनि वित्तीय संस्थाको निक्षेपको साथसाथै कर्जा लगानी पनि घटेको देखाएको हो । बढीभन्दा बढी वित्त कम्पनी र विकास बैंक वित्तीय रूपमा सशक्त हुन मर्जमा जान खोजिरहेका छन् ।
प्रतिक्रिया