काठामडौं : हास्य कलाकार सिपी पुडासैनी यतिबेला फुरुंग छन् । हास्य शृंखला सिस्नुपानी झ्याम्मैमा आफूले निर्वाह गरेको भूमिका छोटो समयमै लोकप्रिय भएपछि उनी दंग परेका हुन् । उनले ‘धतुरे’ को भूमिका निर्वाह गरेका छन् । ‘लामो समयदेखि संघर्ष गर्दै आएको थिएँ, बल्ल अहिले आएर सफलता मिल्यो,’ उनले खुसी हुँदै सुनाए ।
६ वर्षअघि शंखचक्र टेलिसिरियलबाट अभिनयक्षेत्रमा पाइला बढाएका उनले यसबीच हत्तेरिका, तोरीलाहुरे, ताल न बेताल, माटोले माग्दैन आफैँले दिनुपर्छ, किन चल्दैन पानीजस्ता सानो पर्दा तथा जनता जिन्दावाद, आत्माजस्ता ठूलो पर्दाका चलचित्रमा पनि अभिनय गरिसकेका छन् । अन्यभन्दा सिस्नुपानीको धतुरे भूमिकाले आफ्नो कलाकारिता करियरलाई नयाँ मोड दिएको उनी बताउँछन् । प्रत्येक शनिबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा उनले बोल्ने गरेको ‘केरे’ थेगो दर्शकको मुखमा झुन्डिन थालेको छ । नेपालको पश्चिम क्षेत्रतिरको जस्तो आवाज निकाल्ने एकोहोरो स्वभावको पात्रको भूमिका उनको छ । नायिका सुष्मा कार्कीले समेत अभिनय गरेको सिरियलमा उनी सुष्माको बुबा बनेका छन् । काठमाडौं डाँछीका बासिन्दा सिपीले तोरीलाहुरे, ताल न बेतालजस्ता कमेडी सिरियलको निर्देशन आफँै गरेका हुन् । (सौस)
प्रतिक्रिया