चाडपर्वमा उत्साहले नै मन फुरुंग हुन्छ । राम्रो खाने र राम्रै लगाउने विशेष मौका पनि हो चाडपर्व । महिलाहरू यसै पनि सिंगारपटारका सौखिन हुन्छन् । अझ चाडबाडमा चिटिक्क परेर हिंड्न कुन महिलाको रहर नहोला र ?
हामीले आफ्नो अनुहारको आकारअनुसार मेकअप गर्नुपर्छ । अनावश्यक मेकअप गर्दा अनुहारमा समस्या उत्पन्न हुन सक्छ । चाडपर्वमा विभिन्न देवी–देवताका मन्दिरमा पूजा गर्ने, दिदीबहिनी जम्मा भएर नाचगान गर्ने गरिन्छ । त्यस बेला मेकअप बिग्रन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नु उचित हुन्छ । पहिले त क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि आइस लगाउने र टोनर प्रयोग गर्ने गर्नुपर्दछ । अनि छालाको प्रकृतिअनुसार मोस्चराइजर लगाउन भुल्न हुन्न । घाममा लामो समय बस्नुपर्ने भए सनब्लक पनि प्रयोग गर्न सकिन्छ । त्यसपछि छालाको रंगसँग मिल्ने किसिमको वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नुपर्छ । कम्प्याक्ट पाउडर पनि वाटरप्रुफ नै भए ठीक हुन्छ । अनि, वाटरप्रुफ प्यानकेक लगाउनुपर्छ ।
हाम्रो समाजमा विवाहित महिला र अविवाहित महिलाबीचको सिंगारमा पनि केही फरक छ । त्यसलाई सन्तुलनमा राख्न विवाहिता महिलाले रातो आइस्याडो र अविवाहितले ग्रीन र रेडको मिक्स लगाउँदा राम्रो हुन्छ । ओठको साइजअनुसार आउटलाइलिङ गर्ने र पहिरनलाई म्याच हुने गरी लिपिस्टिक प्रयोग गर्नुपर्दछ । चाडपर्वमा रातो रंगलाई प्राथमिकता दिँदा ठीक हुन्छ । त्यसपछि ब्रसले रोज लगाउनुपर्छ । यस्तै हातमा चुरा वा बाला लगाउँदा पनि सुहाउँछ । अविवाहिता महिलाले हरियो र रातो चुरा लगाउनु राम्रो हो भने विवाहिताका लागि रातोले सुन्दरता थप्छ । कानमा झुम्का र रिङ लगाउन सकिन्छ भने घाँटीमा हरियो र रातो पोते, नेक्लेस एवं हरियो पोतेमा छड्के तिलहरी लगाउन सकिन्छ । हातमा रातो नेलपोलिस लगाउँदा सुहाउँछ ।
यी सबै मेकअप र सिंगारका साथमा ध्यान दिनुपर्ने कुरा हो, हेयर स्टाइल । अविवाहिता महिलाले त्यसै केश छोड्न सक्छन् वा हल्का कर्ली गर्न पनि सक्छन् । विवाहिता महिलाले सिम्पल फ्लावर जुरो बनाएर त्यसमा प्राकृतिक गुलाबका पात राख्न सक्छन् । जुरोमा स्टोन र अन्य फ्लावर त्यति राम्रो देखिँदैन । जुत्ता पनि रातो नै भए बेस । पहिरनमा चाहिँ रातो साडी–ब्लाउज, कुर्ता–सुरुवाल, लेहेंगा लगाउँदा पनि तपाईं चिटिक्कै देखिन सक्नुहुन्छ ।
प्रतिक्रिया