एनआरटीको नाटकीय जित

पोखरा, २० कात्तिक । नाटकीय खेलमा भुटानको पाउना टोली ड्रयुपपोल फुटबल क्लबलाई २–१ ले पराजित गर्दै न्युरोड टिम सफल पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीका लागि दुवै गोल अजय विकले इन्जुरी समयमा गरे । यसअघि पाहुना टिमले २२आँै मिनेटमा जोक्पाको गोलमा अग्रता लिएको थियो । खेलको ९० मिनेटसम्म आफ्नो पक्षमा पारेको पाहुना टोली भुटान अन्तिम समयमा सम्हालिन नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भएको हो । अन्तिम समयमा गोलकिपर लेकी घाइते हुनु भुटानी टोलीलाई महंगो सावित भयो । त्यस समय टोलीले तीन खेलाडी नै परिवर्तन गरिसकेको थियो । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा एनआरटीले पहिलो खेलमा पोखरा–११ लाई हराएको थियो ।
फाइनल प्रवेशका लागि एनआरटीले बुधबार एनसेलकपको उपाधिविजेता मनाङ–मस्र्याङदीको सामना गर्नेछ । मनाङ–मस्र्याङदी क्लब शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबारको खेलमा पाहुना टोलीसामु अधिकांश समय एनआरटी हाबी भएको थियो । एनआरटीका प्रशिक्षक डिकेन सुवालले पनि नियमित समयमा नै एनआरटीले जित हात पार्नलायक रहेको प्रतिक्रिया दिए । खेलमा एनआरटीका असिमजंग कार्कीले पेनाल्टी खेर फालेका थिए । एनआरटीले अबको खेलमा दुई विदेशी खेलाडी मैदान प्रवेश गराउने जनाएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा विदेशी तीनसहित १२ टिमको सहभागिता छ । मोफसलकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधिविजेताले नगद ३ लाख ५ हजार र उपविजेताले नगद १ लाख ५० हजार रुपियाँ पाउनेछन् ।

प्रतिक्रिया