चितवन, २० कात्तिक । खातामा रहेभन्दा बढी रकमको चेक काट्ने परिपाटिले व्यवसायी हैरान भएका छन् ।
खातामा पर्याप्त रकम नहँुदासमेत चेक दिँदा कानुनी रूपमा कडा कारबाही र बदनामी बेहोर्नु पर्ने भए पनि बैंक तथा वित्तीय क्षेत्रको बेवास्ताका कारण कारबाही प्रक्रिया अघि नबढ्दा चेक फिर्ता हुने क्रम बढेको हो ।
राष्ट्र बैंकले स्पष्ट रूपमा त्यस्ता चेक दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई कालोसूचीमा राखेर कारबाही गर्न निर्देशन दिएको छ । यद्यपि बैंकले सो निर्देशनअनुरूप काम गर्ने गरेका छैनन् । खातामा रकम नभएको चेक लिएपछि काउन्टरमा रहेका बैंकका कर्मचारीले सहजै रूपमा खातामा पैसा नभएको भन्दै फिर्ता पठाउँछन् । सो चेक दिने व्यक्तिको विवरण चितवनका बैंकहरूले उतार्नेसमेत गरेका छैनन् ।
राष्ट्र बैंकको निर्देशनमा खातामा रकम नभएको अवस्थामा भुक्तानी पाउनुपर्ने व्यक्तिले चेक जारी गर्ने जो कोहीलाई बढीमा सात दिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुन: चेक पेस गर्न भनिएको छ । सो दिनसम्म पनि खातामा रकम जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले त्यस्तो चेक जारी गर्ने जो कोहीलाई सात दिनको सूचना दिनुपर्छ । सो अवधिमा पनि रकम झुक्तानी हुन नसकेमा अनिवार्यरूपमा कालोसूचीमा सूचीकृत गर्नुपर्ने निर्देशनमा उल्लेख छ । त्यसका लागि भुक्तानी पाउनुपर्ने व्यक्तिले लिखित जानकारी दिनुपर्नेछ । सोअनुसार नगरेमा बैंक वा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गर्न सक्छ ।
तर, पनि चितवनका कुनै पनि बैंक र वित्तीय संस्थाले कारबाही प्रक्रिया अगाडि बढाएका छैनन् । पीडित पक्षले पनि कडाइका साथ कारबाहीको माग गरेर निवेदन पेस नगरेको बैंकहरूको भनाइ छ । फिर्ता चेकबाट उधारोमा कारोबार गर्ने सबै खाले व्यावसायी मर्कामा परेका छन् । उद्योग वाणिज्य संघ चितवनका सदस्य राजन गौतम चेक बाउन्स हुने समस्याबाट व्यावसायी प्रभावित हुने गरे पनि कुनै कारबाही नभएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । बैंकले नियमपालना गरेमा स्वत: यस्ता समस्या हट्ने उनका तर्क छ ।
राइजिङ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत चुलाराज पन्त रकम नभएको चेक दिने ग्राहकलाई रकम नभएको जानकारी गराउने गरेको बताउँछन् । त्यस्तै त्रिवेणी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सागर घिमिरे आºनै ग्राहकलाई कारबाही प्रक्रिया अगाडि बढाउन अप्ठयारो हुने बताए । राष्ट्र बैंकको निर्देशन र कारबाही भए पनि व्यावहारिक रूपमा लागू गर्न नसकिएको उनको भनाइ छ ।
प्रशस्तै चेक बाउन्स हुने गरे पनि जिल्ला प्रहरी कार्यालय चितवनमा पनि यससम्बन्धी कुनै उजुरी नपरेको प्रहरी प्रमुख दीपककुमार थापा बताउँछन् । निवेदन परेमा बैंक कसुर ऐनअन्तर्गत थुनामा राखेर मुद्दा चलाउन सकिने थापाको भनाइ छ । यता राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञावलीले भने राष्ट्र बैंकको निर्देशनअनुरूप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया