मुसलमान–बौद्ध संघर्षबारे सुकी मौन

यांगुन : म्यानमारको पश्चिमी भागमा पर्ने रखाइन राज्यमा जारी मुसलमान र बौद्ध धर्मावलम्बीबीचको साम्प्रदायिक हिंसाको सन्दर्भमा म्यानमारकी लोकतान्त्रिक नेत्री आङ सान सुकीले रोहिंग्या मुसलमानहरूको पक्षमा बोल्न अस्वीकार गरेकी छन् । उनले यो जातीय अशान्तिमा कुनै पनि पक्षको समर्थन नगर्ने स्पष्ट विचार व्यक्त गरेकी छन् ।
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु कीले त्यसरी मान बसेकोमा उनका अन्तर्राष्ट्रिय समर्थकमा निराशा छाएको थियो । सु कीले बिबिसीसित कुराकानी गर्दै पश्चिमी म्यानमारमा भएको हिंसाको विषयलाई आफूले नैतिक नेतृत्व दिन नचाहेको बताउँदै समस्या समाधानका लागि एकतर्फी नैतिक नेतृत्वले केही उपलब्धि नहुने र सही समाधान खोज्नुपर्ने बताएकी थिइन् । उनको मौनताबाट मुसलमान रोहिंग्या समूह र बौद्ध धर्मावलम्बी दुवै समुदाय दु:खी छन् ।
म्यानमारको रखाइन राज्यमा गत जुन र हाल भएको हिंसाका कारण त्यस क्षेत्रबाट विस्थापित हुनेको संख्या एक लाखभन्दा बढी पुगेको छ । त्यस राज्यमा मुसलमान तथा बौद्ध धर्मावलम्बीबीच भएको तनावपछि हालै मात्र पनि ३० हजार व्यक्ति विस्थापित भइसकेका छन्  ।
हिंसाबाट दजनौँ व्यक्ति मारिएका छन् भने हजारौँ घरवारविहीन भएका छन् । घरवारविहीन व्यक्तिमध्ये कयौँको त दुई समूहबीच भएको संघर्षका क्रममा घरमा आगजनी भएको थियो । मुसलमान रोहिंग्या समूहका दसौँ हजार व्यक्ति सित्वेनजिकै रहेका शिविरमा आएका छन् । सरकारी अधिकारीले पछिल्लो रक्तपातका कारण उक्त शिविरमा करिब ३० हजार व्यक्ति आइपुगेको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया