“पहिलो चलचित्रबाट ५१ हजार पारिश्रमिक पाएँ”

चलचित्र ‘सो सिम्पल’बाट डेब्यु गरेका नायक प्रमोद भारद्वाज यतिबेला चर्चामा छन् । यी २७ वर्षे नवनायक चलचित्र लेखक प्रदीप भारद्वाजका भाइ हुन् । बिबिएसम्मको अध्ययन पूरा गरेका प्रमोद ‘सो सिम्पल’बाट आफूले जीवनकै महत्त्वपूर्ण सफलता हात पारेको बताउँछन् । 
चलचित्रमा अभिनय गर्दाको पहिलो अनुभव कस्तो रहयो ?
जीवनकै महत्त्वपूर्ण सफलताको रूपमा लिएको छु, सो सिम्पललाई । यो चलचित्रमा अभिनय गर्दा परिवारमा बसेर दैनिक कार्य गरेजस्तै अनुभव भएको थियो । अभिनय गर्दै छु भन्ने फिलै हुन पाएन । रमाइलो लागिरहेको थियो ।
हिरोइनसँग फिल्मी रोमान्स गर्दा लाज कत्तिको लाग्यो ?
सो सिम्पलमा हिरोइनसँगको रोमान्स खासै छैन । यसअघि पनि सानो पर्दाका एक दर्जन म्युजिक भिडियोसहित टेलिशृंखला भाग्य आ–आफ्नोमा अभिनय गरेको थिएँ । थिएटरमा पनि काम गरिसकेको छु । बच्चैदेखि कलाकार बन्ने सोख भएकाले चलचित्रबारे बुझिसकेकै थिएँ । त्यसैले लाज त लाग्ने कुरै भएन ।
रियल लाइफमा कत्तिको रोमान्स चल्छ ?
रिलमा जति रोमान्स गरिएको छ, रियल लाइफमा पनि त्यति नै छ ।
तपाईं दाइको सहयोगले हिरो बन्नुभएको कि आफ्नै क्षमताले ?
सो सिम्पल खेल्न पाउनुमा दाइको हात छैन भन्दिनँ । उहाँमार्फत नै निर्माता केशव भट्टराईसँग चिनजान भएको हो । स्क्रिप्ट तयार भएपछि युनिट नयाँ आर्टिस्टको खोजीमा रहेछ । त्यहीबेला केशव दाइले मलाई अफर गर्नुभयो । मेरो क्षमता धेरैचोटि जाँचिसकेपछि मात्रै मलाई ओके गरिएको हो । यस अर्थमा पूरै दाइको सोर्सले मात्रै सो सिम्पल खेल्न पाएको चाहिँ होइन ।
सो सिम्पलका रमाइला–नरमाइला अनुभव के थिए ?
सुटिङका ५१ दिनमा मैले रमाइला अनुभव मात्र सँगाल्न पाएँ । एउटा दृश्यमा एक साइडबाट ट्रक अनि अर्को साइडबाट सार्वजनिक यातायात आइरहेको देखाउनुपर्ने थियो । तर, ड्राइभरले पहिलोचोटि क्यामेरा फेस गर्दा अत्तालिएर गाडी ठोक्किन पुग्यो । दुवै गाडीका सिसा फुटे । हामी कलाकार पनि केही घाइते भयौँ । त्यो क्षण सम्झेर निकै रमाइलो लाग्छ । यही घटनालाई कसैले नरमाइलो स्मृतिका रूपमा पनि हेर्न सक्छन् ।
कस्तो रेस्पोन्स आइरहेको छ ?
चलचित्र हेर्नेजतिले तारिफै गर्नुभएको छ । चलचित्र पत्रकारहरूले अभिनयको प्रशंसा गरेरै लेख्नुभएको छ । प्रमोसनका लागि सुनसरी पुग्दा पनि दर्शकहरूले निकै तारिफ गर्नुभयो । समग्रमा एकदमै राम्रो रेस्पोन्स पाइरहेको छु ।
नयाँ फिल्मबाट प्रस्ताव आयो कि आएन ?
आएको छ । नामचाहिँ नखुलाउँm क्यारे । कुरा लगभग ८० प्रतिशत ओके भइसक्यो । मलाई पनि रोल एकदमै मन परेको छ ।
तपाईंलाई मन पर्ने कलाकार ?
सरोज खनाल, आर्यन सिग्देल र जल शाह ।
हिरो भएपछि तपाईंमा के परिवर्तन आयो ?
वास्तवमा परिवर्तनै नआएको भन्न मिल्दैन । त्यसो भन्दैमा ठूलो परिवर्तन पनि होइन । चलचित्र चल्नुभन्दा पहिले साधारण रेस्टुरेन्टमा बसेर छोइला खान्थँे । त्यो समय आफै परिवर्तन हुँदो रहेछ । चलचित्र चल्नुपहिले साधारण पब्लिक थिएँ । अहिले पनि साधारणै हुँ तर पब्लिक फिगर भएको छु । यस हिसाबले केही परिवर्तन त आएकै हो ।
सो सिम्पलबाट कति पारिश्रमिक पाउनुभयो ?
५१ दिन सुटिङ चलेको चलचित्रबाट पारिश्रमिक पनि ५१ हजारै पाएँ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया