एनबी समूहका सञ्चालक कालो सूचीमा

काठमाडौं, १९ कात्तिक । एनबी समूहका सञ्चालकलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ । कालो सूचीमा परेका समूहका सदस्यमा जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठ छन् ।
जितबहादुर हाल नेपाल बंगलादेश बैंकका अध्यक्ष छन् भने एनबी इन्स्योरेन्समा समेत सञ्चालक छन् । लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठ पनि एनबी इन्स्योरेन्सकै सञ्चालक हुन् । एनबी समूहअन्तर्गतको सिद्धिगणेश इन्भेस्टमेन्ट, काठमाडौं रिक्रियसन सेन्टर र सांग्रिला इन्भेस्टमेन्ट कम्पनीको नाममा कर्जा सूचना केन्द्रमा परेका व्यक्तिमा अनारदेवी श्रेष्ठ, जेन श्रेष्ठ, लक्ष्मीबहादुर, पूर्णबहादुर श्रेष्ठ र जितबहादुर हुन् ।
जितबहादुर करिब दसैँ अगाडि मात्रै एनबी बैंकका अध्यक्ष नियुक्त भएका थिए । दसँैलगत्तै नबिल बैंकबाट लिएको ऋण नतिरेको अभियोगमा सोही बैंकको सिफारिसमा कालोसूचीमा परेपछि उनले सो पद छाड्नुपर्ने भएको छ । त्यस्तै कालो सूचीमा परेकै कारण एनबी इन्स्योरेन्सका लागि एनबी समूहका सञ्चालकहरू जेन र लक्ष्मीबहादुरले पनि पद त्याग गर्नुपर्ने हुन्छ । नेपालको कानुनमा कालो सूचीमा परेको व्यक्तिले कर्जा चुक्ता गरे पनि तीन वर्षसम्म कुनै पनि सार्वजनिक कम्पनीको सञ्चालक हुन अयोग्य हुन्छ ।
नबिल बैंकका अध्यक्ष तथा पूर्वगभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई एनबी समूहले नै प्रवद्र्धन गरेको एनसिसी बैंकको सिफारिसमा कालोसूचीमा राखेपछि नबिल बैंकले पनि एनबी समूहका सञ्चालकलाई कालो सूचीमा राखेका हुन् ।
एमी फर्मास्युटिकल्सका लागि नबिलका अध्यक्ष तथा पूर्वगभर्नर सत्यन्द्ररप्याराले एनबी र एनसिसी बैंकबाट ऋण लिएका थिए । एनबी बैंकले डेढ महिना अघि श्रेष्ठलाई कर्जा तिर्न आउन सूचना जारी गरेको कालोसूचीमा परेपछि श्रेष्ठले नबिल बैंकको साधारणसभा भन्दा केही दिन अघि मात्रै बैंकको अध्यक्ष छाडेका थिए । नबिल बैंकबाट एनबी समूहले सानेपामा सञ्चालित काठमाडौं रिक्रियसन सेन्टर, सुन्धारामा भएको सांग्रिला इन्भेस्टमेन्ट प्रालि, सिद्धि गणेश इन्भेष्टमेन्ट प्रालि र जेन श्रेष्ठले ऋण लिएका छन् । काठमाडौं रिक्रियसन लक्ष्मीबहादुरको नाममा छ भने सांग्रिला इन्भेस्टमेन्ट पूर्णबहादुर श्रेष्ठ, सिद्धि गणेश इन्भेस्टमेन्ट जीतबहादुरकी श्रीमती अनारदेवीको नाममा छ । जीतबहादुर श्रेष्ठका छोरा जेनले बैंकबाट व्यक्तिगत ऋण लिएका हुन् ।
लक्ष्मीबहादुर केही समयअघिसम्म एनबी बैंकमा सञ्चालक थिए भने जितबहादुर केही दिन अघिसम्म एनसिसी बैंकमा सञ्चालक थिए । उनले दुई साता अघि मात्र समूहले नै नियुक्त गरेका राष्ट्र बैंकका पूर्वसञ्चालक शम्भुशरण कायस्थलाई अध्यक्षबाट हटाएर एनबीको सञ्चालक बनेका थिए । लक्ष्मीबहादुर भने एनबी बैंकबाट ललितपुरको पदमा सिनेमा हल लिलामी गर्दा कम मूल्यमा आफँैले किनेपछि राष्ट्र बैंकको कारबाहीमा परेका कारण एनबी बैंकको सञ्चालक पद छाडेका थिए ।
नबिल बैंकले कर्जा चुक्ता नगरेका कारण श्रेष्ठ परिवारसँग भएको काठमाडौं रिक्रियसन सेन्टर ललितपुरमा रहेको १२ रोपनी सात आनामा बनेको घरजग्गा, जितबहादुरको नाममा ललितपुर ठैबमा रहेको दुई रोपनी १४ आना, पूर्णबहादुरको नाममा काठमाडौं – ११ मा रहेको तीन आनामा बनेको घरजग्गा लिलाम गर्ने भएको छ । नबिल बैंकमा एनबी समूहले ३० करोड रुपियाँ क्रण भएकामा अझै १५ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । स्रोतका अनुसार समूहले आफूसँग भएको सेयर बिक्री गरेर बैंकको ऋण केही समय अगाडि चुक्ता गरेका थिए ।

 बैंकभित्रै किचलो
नेपाल बंगलादेश बैंकले एनबी समूहका सञ्चालक कालो सूचीमा परेपछि आफ्नै प्रवद्र्धकसँग सम्बन्धित कम्पनीको नाममा ऋण तिर्न आउने सूचना जारी गरेको छ । नेपालको वित्तीय क्षेत्रमा हरेक समय विवादमा आउने एनबी समूह आफैँलाई नेपाल बंगलादेश बैंकले शुक्रबार ऋण तिर्न आउने सार्वजनिक सूचना जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यबाट हटेको केही समयपछि नै बैंकको अध्यक्ष नियुक्त गरिएका शम्भुशरण कायस्थलाई दसैँ अगाडि नै बैंकले हटाएर जितबहादुर श्रेष्ठ कम्पनीका अध्यक्ष बनेका थिए । श्रेष्ठ कालो सूचीमा परेपछि फेरि एनबी समूहको पल्ला सञ्चालक समितिमा कमजोर भएको बैंक निकट स्रोतले बतायो । कायस्थ अघि नेपाल बंगलादेश बैंकका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठ बैंकका अध्यक्ष थिए । उनी जितबहादुरका दाजु हुन् ।
राष्ट्र बैंकको सञ्चालक रहँदा समेत एनबी समूहका लागि काम गरेका कायस्थलाई एनबी बैंकबाट हटाइएको छ । २७ असोजमा बसेको सञ्चालक समितिले कायस्थलाई हटाएको हो  । विशेषज्ञ सञ्चालकका रूपमा नियुक्त अच्युतप्रसाद बजगाईंलाई पनि त्यसै समय हटाइएको थियो ।

प्रतिक्रिया