राष्ट्रिय मोटर र्‍याली यसपटक पूर्वाञ्चलमा

विराटनगर, १८  कात्तिक । नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय मोटर र्‍याली, यसवर्ष पूर्वाञ्चलमा गर्ने भएको छ । मोटर र्‍यालीको चौथो संस्करण आगामी मंसिर १५ र १६ गते हुँदै छ ।
१ सय ८० किलोमिटर लामो दूरी तय गरेर आयोजना गरिने प्रतियोगितामा देशभरका ५० मोटरचालकको सहभागिता रहनेछ । नासाले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता विराटनगरबाट सुरु भएर इटहरी–धरान–धनकुटा–हिले हुँदै पाख्रीवासमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । विराट क्षेत्रीय पर्यटन प्रवद्र्धन समितिको सहयोगमा विराटनगरको जनआन्दोलन चौकबाट सुरु हुने मोटरर्‍यालीमा झन्डै दुई सय जनाको सहभागिता रहने कार्यक्रम संयोजक कविन श्रेष्ठले जानकारी दिए । प्रतियोगिता समय, दूरी र गति टिडिएस सिस्टममा खेलाइने नासाका महासचिव गोविन्द भट्टराईको भनाइ छ । प्रतियोगितामा सहभागी हुनेका लागि शनिबारदेखि फर्म वितरण थालिने उनको भनाइ छ ।
नासाले साहसिक खेल पर्यटन प्रवद्र्धन र विकासको पूर्वाधार, शान्ति एकता र सामाजिक सद्भाव नयाँ नेपालको आधार मूल नारा राखेर प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ । नासाले यसअघि काठमाडौं–नगरकोट, काठमाडौं–पोखरा र काठमाडौं–सौराहा मोटर प्रतियोगिता सम्पन्न गरिसकेको छ । ‘मोटर प्रतियोगितामा जुनसुकै ब्रान्डको गाडी प्रयोग गर्न सकिन्छ,’ संयोजक श्रेष्ठले भने, ‘भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताको अध्ययन गर्दै हिमाली शृंखलाको अवलोकन गर्न मोटरिङ उचित खेलमाध्यम हो ।’ र्‍यालीको दूरी एक सय ८० किलो मिटर भए पनि त्यसभित्रको एक सय पाँच किलोमिटरको दूरीलाई मात्रै प्रतियोगिताका लागि मूल्यांकन गरिने तथा कारको गतिका बारेमा भने गोप्य राखिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रतियोगीमध्ये प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीय हुनेलाई १२ हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न करिब १२ लाख ५५ हजार रुपियाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया