रौतहट : बन्जरहाबाट प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएको एक ट्रयाक्टर मालसामान बरामद गरेको छ ।
ना ३ त १८९ नम्बरको ट्रयाक्टरमा ल्याउँदै गरेको ३१ बोरा चिनी तथा ३२ टिन तोरीको तेल र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय गौरमा बुझाएको डिएसपी चक्रबहादुर सिंहले बताए । पक्राउ परेको सामानको मूल्य तीन लाख रुपियाँ बराबर रहेको छ ।
प्रहरी चौकी बन्जरहानजिकैबाट तस्करी गरेर सामान ल्याउँदै गरेको देखेपछि गाउँलेले एसपी महेशविक्रम शाहलाई खबर गरेका थिए । एसपीलाई खबर गरेपछि तस्करीका सामान बरामद गरिएको हो । यस्तै, सशस्त्र प्रहरीले सदरमुकाम गौरको महादेवपटी नाकाबाट १५ हजार रुपियाँ बराबरका पटाका बरामद गरेको छ । मोटरसाइकलमा चप्पलको बोरामा लुकाएर ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीले पटाका बरामद गरेको हो । (सौस)
प्रतिक्रिया