धान उत्पादन बढ्यो

तानसेन, १७ कात्तिक । पाल्पामा यो वर्ष धान उत्पादन वृद्धि हुने देखिएको छ । परम्परागत बिउको विकल्पमा उन्नत जातको बिउको प्रयोग, खेती गर्ने प्रविधिमा आधुनिकीकरणलगायतले पाल्पाको धानबाली उत्पादनमा गत वर्षको तुलनामा १२ प्रतिशत वृद्धि हुने निश्चित भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष ३० हजार चार सय ६६ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष १० देखि १२ प्रतिशत वृद्धि हुने सो कार्यालयका प्राविधिक सूर्य गौतम बताउँछन् । परम्परागत रूपमा पुरानो स्थानीय जातको बिउ प्रयोग गर्दै आएका जिल्लाका कृषकले जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेको उन्नत जातको खुमल–४, खुमल–११, खुमल–६, रामपुर मनसुलीजस्ता प्रजातिका बिउको प्रयोग गर्न थालेका छन् ।
प्रमुख कृषि बालीका रूपमा रहेको धानखेती जिल्लाको माडी फाँट, रामपुर फाँट, सदेवा, कचल, अर्गली फाँटलगायत स्थानमा कृषकले गर्दै आएका छन् । जिल्लाको ५७ हजार एक सय ७२ हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार पाँच सय ६२ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यतिखेर माडी फाँटमा पुरानो बिउ विस्थापित, नयाँ बिउ स्थापित भन्ने अभियानसहित एक रोपनी क्षेत्रफलमा चार मुरीका दरले उत्पादन हुने खुमल–४ र ११ को खेती गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले कसेनी गाविसमा सय रोपनी क्षेत्रफलमा बिज वृद्धिको कार्यक्रम लागू गरेपछि राष्ट्रिय बिउवीजन कम्पनी भैरहवामा ३० टन बिउ बिक्री गर्ने लक्ष्य पनि कृषकले राखेका छन् । बीउवीजन उत्पादन संस्थाका जिल्ला सदस्य एवम् कसेनी गाविसका अगुवा कृषक विष्णु घिमिरेका अनुसार एकीकृत जल व्यवस्थापन कार्यक्रम लागू हुनु, उन्नत जातको बिउको प्रयोग गर्नु, आधुनिक प्रविधिलाई कृषकले अँगाल्नुलगायतका कारणले माडी फाँटमा यो वर्ष धानको उत्पादनमा वृद्धि भएको हो ।न बढ्यो

 

क्षतिपूर्तिको माग

बाँके : फौजी किराले बाँकेमा तीन सय २५ हेक्टर जग्गाको धानबालीमा क्षति पुर्‍याएपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् ।
प्रतिहेक्टर ३० क्विन्टल धान उत्पादन भइसकेका बेला फौजी किराको आक्रमणले धानबाली नष्ट भएको हो । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला खजुराका अनुसार फौजी किराले क्षति पुर्‍याएको विवरण संकलन गरी त्यसको प्रारम्भिक विवरण आएको छ । जिल्लाको बैजापुर गाविसमा एक सय २५ हेक्टर, फत्तेपुरमा ६० हेक्टर र बिनौना गाविसमा ४० हेक्टर धानबालीमा क्षति पुगेको प्रयोगशालाले जनाएको छ । सरकारले फौजी किरापीडित किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि सम्बन्धित कृषि कार्यालयले क्षतिको विवरण संकलन गर्न थालेको हो । क्षतिको पूर्ण विवरण संकलन हुनासाथ क्षतिपूर्तिका लागि कृषि मन्त्रालयमा पठाइने कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया