ओबामा स्यान्डीप्रभावित क्षेत्रमा

न्युयोर्क : अमेरिकाका विभिन्न राज्यमा आएको विनाशकारी समुद्री आँधी स्यान्डीले पुर्‍याएको क्षतिको निरीक्षण गर्न राष्ट्रपति बाराक ओबामा बिहीबार न्युजर्सी पुगेका छन् । त्यहाँ उनले स्थानीयसित आफ्नो प्रशासनले लामो समयसम्म उनीहरूलाई साथ दिइरहने बताए । भ्रमणमा रहेका ओबामालाई फेडेरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका प्रमुख क्रेग फुगाटेले साथ दिइरहेका छन् ।
डेमोक्रयाटिक ओबामाले रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीका साथै एटलान्टिक सिटी क्षेत्रका स्थानीय मानिस र राहतकर्मीसित पनि भेटघाट गरेका छन् । समुद्री आँधीका कारण समग्र उत्तर–पूर्वी अमेरिकामा गरी कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अझै पनि बिजुलीविहीन नै छन् ।
दुई दिनको बन्दपछि केही व्यापारिक प्रतिष्ठान र सेवाहरू फेरि सुरु भएका छन् । जेनरेटरको सहयोगमा वाल स्ट्रिट पनि पुन: सक्रिय हुन थालेको छ । अमेरिकामा आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनभन्दा पहिले ओबामाले समुद्री आँधीले मच्चाएको उत्पात्का कारण आफ्नो प्रचार कार्यक्रम हालसम्म रोकेका छन् ।
न्युजर्सीका रिपब्लिकन गभर्नर सामान्यतया ओबामाका आलोचक मानिन्छन् तर समुद्री आँधीका क्रममा ओबामाको नेतृत्वमा भएका र भइरहेका राहतकार्यका लागि उनी ओबामाको उच्च प्रशंसा गरिरहेका छन् । यसलाई जानिफकारहरू अर्थपूर्ण मानिरहेका छन् ।
अमेरिकी ऊर्जा विभागले उत्तर–पूर्वी क्षेत्रमा समुद्री आँधीले गर्दा ६२ लाख घर र व्यापारिक प्रतिष्ठानहरूमा अहिलेसम्म पनि बिजुली सेवा पुन: सुरु हुन सकेको छैन । आँधीबाट भएको क्षतिको आँकलन गरिरहेको न्युयोर्क सहर अब विस्तारै सामान्य हुने प्रयासमा छ । थुप्रै बससेवा सुरु भइसकेका छन् भने धेरैजसो पुलको यातायात पनि खोलिसकिएको छ । यसैगरी, हवाई यातायात पनि सुरु भइसकेको छ तर स्थिति पूर्ण तवरबाट सामान्य भइसकेको छैन । (एजेन्सी)

प्रतिक्रिया